दाङमा चार वर्षमा लागुऔषध मुद्धामा ३ सय ८३ जना पक्राउ


दाङ । दाङमा वर्षेनी लागुऔषध प्रयोगकर्ता र कारोबारीको संख्या बढ्दो रहेको देखिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार चार वर्षको अवधिमा लागुऔषध मुद्धामा ३ सय ८३ जना पक्राउ परेका छन् ।

आर्थिक बर्ष २०७६/७७ देखि बितेको आर्थिक वर्षसम्म २५ महिलासहित ३८३ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक बर्ष २०७६/७७ मा ७३ जना पक्राउ परेका छन् । यस्तै आर्थिक बर्ष २०७७/७८ मा ७५ जना पक्राउ परेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा पक्राउ परेकामध्ये एकजना भारतिय नागरिक समेत रहेका छन् ।

यस्तै आर्थिक बर्ष २०७८/७९ मा १० महिला र १ सय ६ पुरुष गरेर १ सय १६ जना पक्राउ परेका छन् । त्यस्तै आर्थिक बर्ष २०७९/८० मा १६ महिला र १ सय ३ पुरुष गरी १ सय १९ जना पक्राउ परेका छन् ।तथ्यांक अनुसार वर्षेनी लागुऔषध मुद्धामा पर्नेको संख्या बढ्दै गएको देखिएको छ । पक्राउ पर्नेमा १६ वर्षदेखि ६० बर्ष उमेर समुहसम्मका रहेका छन् ।

भारतसंग जोडिएको दाङमा खुल्ला सिमानाका हुनु र रुकुम, रोल्पा, सल्यान लगायतका ठाउँबाट लागुऔषध दाङ हुँदै भारतसम्म ओसार पसार गर्ने गरिएको प्रहरीको अनुसन्धानले देखाउने गरेको छ ।

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस