सरकारलाई ३ खर्ब ९७ अर्ब बजेट घाटा

काठमाडौ । सरकारलाई गएको आर्थिक वर्षमा करिब ४ खर्ब रुपैयाँ बजेट घाटा भएको छ ।

लक्ष्यअनुसारको राजस्व संकलन र वैदेशिक सहयोग प्राप्त नहुँदा आर्थिक वर्ष २०७९/८० मा ३ खर्ब ९७ अर्ब ८७ करोड १९ लाख रुपैयाँ बजेट घाटा भएको हो ।

दुईपटक बजेट संशोधन गर्दा पनि सरकारले लक्ष्य भेट्टाउन असफल भएको छ । गएको आर्थिक वर्षका निम्ति सरकारले १७ खर्ब ८३ अर्ब ७३ करोड ६३ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसलाई सरकारले दोस्रोपटक बजेट संशोधन गर्दै करिब १६ प्रतिशत कम अर्थात् १५ खर्ब ४ अर्ब ९९ करोड बजेट खर्च गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

तर, उक्त लक्ष्यभन्दा ७५ अर्ब ४२ करोड रुपैयाँ कम खर्च लक्ष्य राखेको थियो । आर्थिक वर्षको अन्त्यसम्म विनियोजित बजेटको ७९ दशमलव ६९ प्रतिशत अर्थात् १४ खर्ब २९ अर्ब ५६ करोड ४० लाख रुपैयाँ बजेट खर्च भएको छ ।

कम खर्च गर्ने लक्ष्य राख्दा पनि सरकारलाई ठूलो बजेट घाटा भएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस