यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आज मनाङ एयर हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइयो, कर्णालीको बजेट बहुमतले पारित, देश कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री, ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ, भारतले खोल्यो धौलीगंगा बाँध, सतर्कता अपनाउन सूचना जारीलगायतका समाचारले प्रमुख स्थान पाए । 

मनाङ एयर हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौं ल्याइयो

सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परी निधन भएकाहरूको शव काठमाडौं ल्याइएको छ । दुई वटा हेलिकोप्टरमार्फत शवलाई काठमाडौं ल्याइएको हो ।

मंगलबार बिहान काठमाडौंबाट उडेको हेलिकोप्टर सोलुखुम्बुबाट फर्किने क्रममा लिखुपिके गाउँपालिका ५ लाम्जुरापास नजिक दुर्घटना भएको थियो । दुर्घटनामा पाइलट क्याप्टेन चेतबहादुर गुरुङ र पाँच जना मेक्सिकन नागरिकको मृत्यु भएको थियो ।

कर्णालीको बजेट बहुमतले पारित

कर्णाली प्रदेश सरकारले ल्याएको आगमी आर्थिक वर्ष २०८०/०८१ को बजेट पारित भएको छ ।

मंगलबार प्रदेशसभाको २५ औँ बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले पेश गरेको बजेट बहुमतले पारित भएको हो ।

भ्रष्टाचारको छानबिन हुनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल

पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारी जग्गामा अनियमितताबारे छानबिन गरिनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री नेपालले ललिता निवास जग्गा प्रकरणलगायत सरकारी जग्गामा भ्रष्टाचारसँग जोडिएका कसैलाई पनि उन्मुक्ति दिन नहुने स्पष्ट पारे ।

सभामुख घिमिरे र फ्रान्सेली राजदूत बोरबाओबीच भेटवार्ता

सभामुख देवराज घिमिरेसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बोरबाओले भेट गरेका छन् ।

सिंहदरबारमा मंगलबार भएको भेटमा नेपाल र फ्रान्सबीचको मैत्रीपूर्ण सम्बन्ध, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

एमाले बागमती प्रदेशको अधिवेशन असोज ७ र ८ गते

नेकपा एमालेको बागमती प्रदेश अधिवेशन असोज ७ र ८ गते हुने भएको छ ।

च्यासलमा बसेको प्रदेश कमिटी बैठकले अधिवेशनको मिति तय गरेको हो ।

राप्रपाको सुदूरपश्चिमको सहसंयोजकमा शाही र कर्णालीको सहसंयोजकमा बुढालाई जिम्मेवारी

‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि सुदूरपश्चिम प्रदेशको सह–संयोजकमा ज्ञानेन्द्र शाही र कर्णाली प्रदेशको सह संयोजकमा धनबहादुर बुढालाई जिम्मेवारी दिइएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट पारित गरिएको ‘नवीन राप्रपा–२०८०’ को कार्ययोजना कार्यान्वयनका लागि प्रदेश संयोजकको समन्वयमा रही कार्यसम्पादन गर्न सुदूरपश्चिम प्रदेशको सहसंयोजकमा शाही र कर्णाली प्रदेशको सह संयोजकमा बुढालाई जिम्मेवारी तोकेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

८४ सालमा एकल सरकार बनाउँछौँ, सरकार बनाउने र जोगाउने फुर्सद छैन : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ सालमा बहुमत ल्याएर एमालेले सरकार बनाउने बताएका छन् ।

मंगलबार बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अहिले सरकारमा नजाने भन्दै २०८४ मा ५१ प्रतिशत जित निकालेर आफ्नै एकल सरकार बनाउने मिसनमा आफूहरु लाागेको बताएका हुन् ।

देश कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नविनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको ११औँ साधारण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कृषि तथा वन क्षेत्रको विकासमा राष्ट्रका लागि आवश्यक विज्ञ जनशक्ति उत्पादन गरी वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा प्रसार कार्यमा लाग्न निर्देशन दिए ।

ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप दुईजना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायव सुब्बा (नासु) योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई काठमाडौँबाट पक्राउ गरेको हो ।

भारतले खोल्यो धौलीगंगा बाँध, सतर्कता अपनाउन सूचना जारी

भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलेको छ । बाँध खोलेपछि महाकाली नदीमा जलस्तर बढेको छ भने नदीमा माटो मिसिएको धमिलो पानी बगिरहेको छ ।

दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीका अनुसार भारतले बाँध खोल्ने पहिल्यै जानकारी गराएको थियो ।

बैतडीमा लम्पी स्किन नियन्त्रण बाहिर, नौ हजार पशु मरे

बैतडीमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलिएको छ । घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ ।

यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको केन्द्रका पशु विकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डा. विशाल पाठकले जानकारी दिए

प्रकाशित मिति : २०८० असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस