लुम्बिनी, कोशी र सुदूरपश्चिममा भारी वर्षा, तराईमा हावाहुरीको सम्भावना

दाङ । बिहीबार पनि देशका केही भू–भागमा भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको हो ।  

‘बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ,’ महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ, ‘कोशी  र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।’   

यस्तै, आज राति कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा भारी वर्षाको आकलन गरिएको छ । यस्तै, तराईको केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।  

‘राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले भनेको छ, ‘कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।’ 

बाँकी स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज बिहान अहिले देशभर आंशिकदेखि सामान्य बदली छ । कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका एक/दुई स्थानमा भने हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

भारी वर्षा, मेघगर्जन, चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ । 

प्रकाशित मिति : २०८० असार २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस