
दाङ । डिभिजन वन कार्यालय दाङको सहयोगमा घोराहीस्थित ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा अध्ययनरत विद्यार्थीहरुले सोमबार विरुवा रोपेका छन । एक विद्यार्थी दुई बिरुवा रोप्ने र संरक्षण गर्ने विद्यालयको वार्षिक कार्यक्रमअनुसार विद्यालयले एक जना विद्यार्थीलाई कम्तिमा दुई वटा बिरुवा प्रदान गरेको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाको सभापतित्व एवं घोराही उपमहानगरपालिका वडा नं १५ का अध्यक्ष रमेशकुमार पाण्डेयको प्रमुख आतिथ्यता र एकान्त टोल बिकास संस्थाका अध्यक्ष शंकर गौतमको विशिष्ट आतिथ्यतामा ज्योतिपुञ्ज विद्यालयका बिद्यार्थीहरुलाई बिरुवा प्रदान गरिएको थियो । विरुवा प्रदान गर्दै प्रमुख अतिथि वडा अध्यक्ष पाण्डेयले विद्यालयले वन र वातावरणप्रति सानैदेखि विद्यार्थीहरुलाई सचेतीकरण र सहभागी गराएकोमा खुसी व्यक्त गर्दै रोपिएका बिरुवा संरक्षणमा लाग्न विद्यार्थीहरुलाई आग्रह गरे । त्यस्तै विशिष्ट अतिथि एकान्त टोल बिकास संस्थाका अध्यक्ष शंकर गौतमले टोलको गहनाकारुपमा रहेको विद्यालयले समाजमा उत्तरदायी ढंगले काम गरेकोमा शैक्षिक कार्यक्रमसँगै समाज उपयोगी कार्यमा निरन्तररुपले लाग्न आग्रह गरे । विरुवा वितरण कार्यक्रमको सहजीकरण विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले गरेका थिए ।

यसैबिच घोराही उपमहानगरपालिका वडा नं २ रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिस स्कुलमा पनि सोमबार विद्यार्थीहरुलाई विरुवा वितरण गरिएको छ । एक विद्यार्थी दुई बिरुवा रोप्ने र संरक्षण गर्ने कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत करिव पाँच सय विद्यार्थीहरुलाई विरुवा वितरण गरिएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको सभापतित्व एवं घोराही उपमहानगरपालिका वडा नं २ का अध्यक्ष चित्रबहादुर चौधरीको प्रमुख आतिथ्यता र प्रगतिशील टोल विकास संस्थाका अध्यक्ष नारायणप्रसाद न्यौपानेको बिशिष्ट आतिथ्यतामा विद्यार्थीहरुलाई विरुवा बितरण गरिएको थियो ।
विरुवा वितरण कार्यक्रममा बोल्दै वडाअध्यक्ष चौधरीले विद्यालयले थालेको विद्यार्थीहरुबाट विरुवा रोप्ने र संरक्षण गर्ने कार्यक्रमले विद्यार्थीहरुलाई सानैबाट वन तथा वातावरणको संरक्षण गर्ने तर्फ जानकार हुने बताए । बिरुवा वितरण कार्यक्रमको सहजीकरण विद्यालयका प्रिन्सिपल शिव भण्डारीले गरेका थिए ।
डिभिजन वन कार्यालय दाङको ‘एक घर दुई वृक्ष, शहर हाम्रो बनाउ स्वच्छ’ कार्यक्रम र विद्यालयको ‘एक विद्यार्थी दुई विरुवा, संरक्षण गरौं पानीको मूल र जरुवा’ भन्ने कार्यक्रमअनुसार गुरु पूर्णिमाको अवसरमा सोमबार दुवै विद्यालयमा अध्ययनरत एक हजार पाँच सय बढी विद्यार्थीहरुलाई दुई वटाका दरले तीन हजार बढी विरुवा वितरण गरिएको हो । वितरण गरिएका विरुवा विद्यार्थीहरुले आफ्नो घर वरपर रोपेका छन ।
कार्यक्रमका लागि डिभिजन वन कार्यालय दाङले धुपी, पारिजात, गुलमोहर, अमला, कपुर, दालचिनि, टिमुर, कल्की, राजवृक्ष, छतिवन लगायतका प्रजातिका तीन हजार बिरुवा विद्यालयलाई निःशुल्क उपलब्ध गराएको डिभिजन वन कार्यालय दाङका प्रमुख डिभिजनल वन अधिकृत मोहन प्रसाद श्रेष्ठले जानकारी दिए । बिरुवा लगाउने ठाउँ, क्षेत्रफल र विद्यार्थीहरुको चाहनाअनुसार वितरण गरिएको ज्योतिपुञ्ज आवासीय माध्यमिक विद्यालय घोराही दाङका ‘समाज र विद्यालय सँगसँगै’ कार्यक्रमका संयोजक ध्रुबराज पौडेलले जानकारी दिए ।
विद्यार्थीहरुमा जल, जंगल र जमिनप्रति स्नेह राखी वातावरण संरक्षण र प्रवद्र्धनमा सचेतना ल्याउनका लागि ज्योतिपूञ्जमा अध्ययनरत विद्यार्थीलाई बिरुवा घरमै लगेर अभिभाभवको सहयोगमा रोप्ने र संरक्षण गर्ने काम सुरु गरिएको ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयका प्रबन्ध निर्देशक बालचन्द्र शर्माले जानकारी दिए । विद्यार्थीहरुको प्रयोगात्मक परीक्षामा अंक उपलव्ध गराउने योजना सहित गत वर्षदेखि वृक्षारोपण कार्यक्रम सुरु गरिएको शर्माले जानकारी दिए । सोही कार्यक्रमको निरन्तरता स्वरुप यो बर्ष पनि दुवै विद्यालयमा बृक्षारोपण कार्यक्रम गरिएको प्रवन्ध निर्देशक शर्माको भनाई छ ।
रोपिएका बिरुवा संरक्षणका लागि विद्यालयले सवै विद्यार्थीका अभिभावकलाई पत्राचार गरी विरुवा रोप्नको लागि खाडल खन्नेदेखि लिएर त्यसलाई मलजल गर्ने तरिका र विरुवाको संरक्षण गर्नका लागि अभिभावको सकारात्मक सहयोगबाटै बृक्षारोपणको काम शुरु गरिएको ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयका प्रिन्सिपल बुद्धिराज अधिकारीले जानकारी दिए । विद्यार्थीहरुलाई वातावरण संरक्षण सचेतीकरणका लागि विद्यालयको योजनामा उल्लेखित ‘एक विद्यार्थी दुई विरुवा, संरक्षण गरौं पानीको मूल र जरुवा’ भन्ने कार्यक्रम प्रभावकारी देखिएका कारण डिभिजन वन कार्यालय दाङको वार्षिक स्वीकृत कार्यक्रमअनुसार गत वर्षदेखिनै विरुवा प्रदान गरी सहयोग गरिएको डिभिजन वन कार्यालय दाङले जनाएको छ ।