
दाङ । आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यम वर्षाकाे सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, बाँकी प्रदेशका केही स्थानमा पनि पानी पर्न सक्छ । दाङ जिल्लामा भने राती देखि निरन्तर वर्षा भैरहेकोछ ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा ठूलो वर्षा हुने पूर्वानुमान छ । यी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना छ भने अन्य प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि हुरी चल्न सक्छ ।
आज राति देशभरको मौसम आंशिकदेखि पूर्णतः बदली रहने महाशाखाले जनाएको छ । कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिमका एक/दुई स्थानमा चट्याङसहित भारी वर्षा हुने मौसमविद्काे भनाइ छ ।
वर्षासँगै पहाडी क्षेत्रमा पहिरो र तराईमा हावाहुरी, बाढी र डुबानको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।