काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) ले भैरहवाबाट हङकङमा सिधा उडान गर्ने भएको छ । काठमाडौंबाट हङकङ सिधा उडान गरिरहेको नेपाल एअरलाइन्सले भैरहवाबाट पनि उडान सञ्चालन गर्न लागेको हो ।
विश्व प्रसिद्ध लुम्बिनीलाई हङकङसँग जोडेर त्यहाँबाट बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले उडान विस्तार गर्न लागिएको निगमले जनाएको छ । निगमले भैरहवाबाट भारतको नयाँ दिल्लीमा पनि छिट्टै उडान सञ्चालनको योजना बनाएको छ । भैरहवाबाट हङकङ र नयाँदिल्लीमा उडान सञ्चालनको अन्तिम तयारी भइरहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
प्रवक्ता पौडेलका अनुसार अबको १५ दिनभित्र ती दुवै गन्तव्यमा उडान गर्नेगरी टिकट बुकिङ खुला गरिनेछ । दुबई, दोहालगायत गन्तव्यमा पनि भैरहवाबाट उडान सञ्चालन गर्ने योजना छ । निगमले अहिले काठमाडौंबाट हङकङमा हप्तामा दुई उडान गर्दै आएको छ । त्यस्तै नयाँदिल्लीमा दैनिक दुई उडान भरिरहेको छ । दुवै गन्तव्यमा भैरहवाबाट कति उडान गर्ने भन्ने अहिले टुङ्गो लागिनसकेको प्रवक्ता पौडेलले बताए ।
निगमले गएको जेठ २९ गतेदेखि भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नुका साथै भैरहवा–मलेसिया र मलेसिया–भैरहवा–काठमाण्डौमा उडान गरिरहेको हो ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान तदारुकताका साथ गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समन्वयमा निगम व्यवस्थापनले विशेष पहल गरी उडान सुरु गर्ने निर्णय गरेको निगमले जनाएको छ ।


