बिजौरी उद्योग वाणिज्य संघको नेतृत्वमा विरासत तोडियो

अध्यक्षमा रेश्मिराज खड्का निर्वाचित,

बिजौरि । दाङको बिजौरी उद्योग वाणिज्य संघको अध्यक्षमा संयुक्त लोकतान्त्रिक प्यानलका रेश्मीराज खड्का भारी मतले विजयी भएका छन् । नयाँ नेतृत्व चयनका लागि संघको हिजो शनिबार भएको निर्वाचनमा खड्काले २५३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक प्यानलका लेखनाथ खत्री (पुन्टे) ले १७३ मत प्राप्त गरेका छन् भने अध्यक्ष पदका अर्का प्रत्यासी रास्वपा निकट उम्मेदवार शिवराज खत्रीले १३३ मत प्राप्त गरेका छन् ।

खड्काले संयुक्त लोकतान्त्रिक प्यानलको नेतृत्व गरेका थिए । संयुक्त लोकतान्त्रिक प्यानलमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र लगायतका राजनीतिक दलहरु रहेका थिए । अर्को प्यानल नेकपा एमालेको रहेको थियो । नेकपा एमालेको नेतृत्व लेखनाथ खत्री (पुन्टे) ले गरेका थिए । त्यसो त राष्ट्रिय स्वतन्त्र पार्टी पनि अपुरो प्यानलसहित चुनावी मैदानमा होमिएको थियो । जसको नेतृत्व शिवराज खत्रीले गरेका थिए ।

योसँगै विजौरी उद्योग वाणिज्य संघको नेतृत्वमा एमालेको विरासत तोडिएको छ । विजौरीमा उद्योग वाणिज्य संघ स्थापना भएसँगै लगातार नेकपा एमाले निकटको नेतृत्व रहँदै आएको थियो । यसपालि पनि रेश्मीराजलाई चुनाव जित्न त्यति सजिलो भने थिएन । भरखरै काङ्ग्रेस छाडेर रास्वपामा प्रवेश गरेका शिवराज खत्रीले आफूले चुनाव जित्ने भन्दा पनि रेश्मीराजलाई हराउनका लागि उम्मेदवारी दिएको बताइन्छ ।

त्यस्तै वाणिज्य उपाध्यक्षमा संयुक्त लोकतान्त्रिक पार्टीका डिल्ली बहादुर खत्री ३६२ मतका साथ विजयी भएका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक प्यानलका गोविन्दबहादुर रोकाले १८३ मत प्राप्त गरेका थिए ।
उद्योग उपाध्यक्षमा संयुक्त लोकतान्त्रिक प्यानलका चित्रबहादुर खड्काले २९५ मत ल्याएर निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक प्यानलका शोभाकर डाँगी ‘रमेश’ले २३९ मत ल्याएका छन् ।

यस्तै संघको महासचिवमा संयुक्त लोकतान्त्रिक प्यानलका दिपक कुमार बस्नेत निर्वाचित भएका छन् । उनले ३१७ मत ल्याउनुभएको छ भने उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक प्यानलका दिपेन्द्र बहादुर केसी ‘दिपक’ले २२१ मत ल्याएका छन् ।

यस्तै कोषाध्यक्ष पदका लागि तीन जना प्रतिष्पर्धामा छन् । कोषाध्यक्ष पदका उमेदवार संयुक्त लोकतान्त्रिक प्यानलका कर्ण बहादुर वलीले २७२ मत ल्याएर निर्वाचित भएका छन् भने निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक प्यानलका प्रेमबहादुर बिकले १८६ र रास्वपा निकट उम्मेदवार राम बहादुर डाँगी ‘बादलपारी’ले ९३ मत ल्याएका छन् ।

यस्तै सचिव पदमा लोकतान्त्रिक प्यानलका लाल बहादुर खड्का ‘जीवन’ ले २०७ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटम प्रतिस्पर्धी संयुक्त लोकतान्त्रिक प्यानलका भुप बहादुर वलीले १७८ र रविन्द्र केसीले १५२ मत ल्याएका छन् ।

सबै पदका लागि भएको निर्वाचनमा ५ सय ७३ मत खसेको थियो । कुल ६१८ मतदातामध्ये ४५ जना मतदाता अनुपस्थित भएका छन् ।

यस्तै महिला सदस्यमा शारदा केसी (२३६) निर्वाचित भएकी छिन् । यसैगरी उद्योग सदस्यमा सुरेन्द्र बहादुर बुढा (२३६) निर्वाचित भएका छन् । यस्तै खुला सदस्यहरुमा अर्जुन कुमार रेग्मी (२९४), डंक बहादुर वली (२८२), देवराज वली (२७५) , ज्ञानेन्द्र विष्ट (२६२), भिमसेन सुनार (२५३) र चुडामनी रावत ‘भरत’ (२५०) मत ल्याएर निर्वाचित भएका छन् ।

निर्वाचनमा सचिव र तीन खुला सदस्य पदमा नेकपा एमाले निकट लोकतान्त्रिक प्यानलका उम्मेदवार विजयी भएका छन् भने बाँकी सबै पदमा संयुक्त लोकतान्त्रिक प्यानलका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित मिति : २०८० असार १० गते आइतवार
प्रतिक्रिया दिनुहोस