भैरहवा विमानस्थलमा अन्तर्राष्ट्रिय नियमित उडान सुरु

जहाज थप्न नदिन षड्यन्त्र भइरहेको छ : मन्त्री किराँती

बुटवल । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालम्पुरबाट भैरहवा विमानस्थलमा पहिलो उडान गरेको छ।

विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि मंगलबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय नियमित उडान सुरु गरेको हो।

अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाको क्वालालम्पुरबाट आएको विमानको स्वागत संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री सुदन किरातीले गरे ।

१५८ सिट क्षमताको नेपाल एयरलाइन्सको न्यारोबडी विमानले भैरहवाको पहिलो उडानमा करिब १ सय यात्रु मलेसियाबाट ल्याएको हो।

विमानमा मलेसियामा रोजगारी गरेर घर फर्केका नेपालीहरूका साथै मलेसियाका पर्यटन व्यवसायीहरू गरी विमानबाट ३१ जना यात्रु भैरहवा अवतरण गरेका छन्। बाँकी काठमाडौं अवतरण गर्नेछन्।

निगमले अहिले मलेसिया–भैरहवाको भाडा ३१ हजार र मलेसिया–काठमाडौँ ५६ हजार रुपैयाँ भाडा दर तोकेको बताएको छ।

नेपाल वायुसेवा निगमका उपनिर्देशक रमेश पौडेलले पहिलो चरणमा न्यारोबडीबाट सातामा एउटा उडान गर्ने बताए।

जहाज थप्न नदिन षड्यन्त्र भइरहेको छ : मन्त्री किराँती

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायु सेवा निगममा नयाँ जहाज थप्न नदिन षड्यन्त्र भइरहेको बताएका छन् । नयाँ जहाज नकिन्ने भए मन्त्रालय खारेज गरिदिए पनि हुने उनले बताए ।

नेपाल वायु सेवा निगमको विमान मलेसियाबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेपछि मंगलबार बिहान विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री किराँतीले नयाँ जहाज थप्न नदिने षड्यन्त्र भइरहेको बताएका हुन् ।

निगमका जहाज थप्न नदिने षड्यन्त्र कसले गरेको हो भन्नेचाहिँ उनले खुलाएनन् । तर मन्त्री किराँतीले निजी विमान कम्पनीको स्वार्थमा निगमलाई नयाँ जहाज थप्न नदिने षड्यन्त्र भएको इङ्गित गरे ।

‘जहाज किन्नैपर्छ अन्यथा मन्त्रालय खारेज गरे हुन्छ,’ मन्त्री किराँतीले भने, ‘किन्न नदिन थुप्रै षड्यन्त्रहरु छन् तर ऐनअनुसार कुनै दाग नलाग्ने गरी पारदर्शी ढंगले खरिद गर्नैपर्छ ।’ निजी कम्पनीको भाडादर ज्यादै महँगो भएकाले निगमले जहाज थपेर सस्तो दरमा सेवा दिनुपर्ने मन्त्री किराँतीले बताए । उनले साना–ठूला गरी कम्तीमा ५० वटा जहाज निगमको हुनुपर्ने बताए ।

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस