
तुल्सीपुर । घरआगनमा आउने चराको गणना सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा जेठ १८ गतेदेखि छिमेकी चरा गणना हुने भएको हो ।
घर छेउछाउमा आउने दूरबिन बिना पहिचान गर्न सकिने १ सय भन्दा बढी प्रजाति र अन्य चराको गणना गरिने पर्यावरणीय दिगो बिकास एबम अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीवहादुर रावतले जानकारीदिनु भयो ।
नेपाल पंक्षी संरक्षणको अभियानलाई सहयोग गर्न छिमेकी चरा गणनाको लागि स्कूलहरुका विद्यार्थीहरुलाई मोवाइव एप्सवाट सिकाउन थालिएको रावतले जानकारी दिनु भयो । केन्द्रका सामाजिक परिचालन सोमा गोराथोकीले स्कुल स्कुलमा पुगेर सिकाउन थालेको जानकारी दिनु भयो ।

जेठ २५ गतेसम्म ‘छिमेकी चरा’ एप्लीकेशनको मार्फतबाट जो सुकैले पनि आफ्नो घर टोलमा देखिएका चराको गणना गर्न सकिने छ ।
सन् २०२२ देखि छिमेकी चराको गणना गर्न सुरु भएको संघका कार्यक्रम अधिकृत भूपाल नेपालीले बताउनुभयो । जाडो याम र गर्मी याममा वर्षमा दुई पटक गणना हुने छ। स्थानीय जनताको सहभागिता गराउन हरेक जिल्लामा स्वयंसेवकको व्यवस्था गरिएको बताइएको छ । ती स्वयंसेवकले समुदायमा पुगेर चराको विषयमा जानकारी दिने, पहिचान गर्न र एप्लीकेशनबाट गणना गर्न सिकाउने बताइएको छ ।

यस्तै, आफ्नो घर, छत, सडक, पार्क लगायतका स्थानमा देखिएका चराको गणना हुनेछ । गणना गर्ने स्थानमा कम्तीमा १५ देखी ३० मिनेटमा देखिने चराको रेकर्ड राखी सहयोग गर्न सङ्घले अनुरोध गरेको छ ।
कसरी गणना गर्ने छिमेकी चरा
‘छिमेकी चरा’ एप्लिकेशनको प्रयोग गरी जो सुकैले गणनामा सहभागी हुन सक्ने केन्द्रले जनाएको छ । जसका लागी एप डाउनलोड गर्नुपर्ने हुन्छ । जसमा नेपालमा पाइने चराहरूको चित्र र विशेषता उल्लेख गरिएको छ भने घर वरपर देखिएका चराको चित्र हेरी पहिचान गर्न सकिने बताइएको छ । गणना गरेको चराको विवरण एपको माध्यमबाट पठाउन सकिने छ । चरा गणना गर्दा मोबाइलको लोकेसन अन गरी जिल्ला छान्नु पर्ने बताइएको छ ।