सहज खानेपानी वितरणका लागि मुहान संरक्षण अनिवार्य : प्रमुख खड्का

तुलसीपुर । सहजरुपमा खानेपानी वितरणका लागि मुहान संरक्षण अनिवार्यरुपमा रहेको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले बताउनुभएको छ । हलवार खानेपानी उपभोक्ता तथा सरसफाई समितिको पन्ध्रौ साधारण सभाको उद्घाटन गर्दै नगरप्रमुख खड्काले पछिल्लो समयमा खानेपानीका मुहान सुक्दै गएकाले दीर्घकालीनरुपमा समस्या समाधानका लागि मुहानहरु थप्ने र संरक्षण गर्ने कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत खड्काले खानेपानीजस्तो संवेदनशील र आधारभूत क्षेत्रलाई संघ र प्रदेश सरकारकै मातहतमा राख्दा स्थानीय सरकारले नियमनबाहेक अन्य भौतिक संरचना निर्माणको क्षेत्रमा काम गर्न नसकेको बताउनुभयो । उहाँले मुहान संरक्षण गर्दै संस्थाको तयार भएको विस्तृत विवरण प्रतिवेदन(डिपिआर) कार्यान्वयनका लागि संघ र प्रदेश सरकारसमक्ष माग गर्ने बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर ४ का वडाध्यक्ष तुलसी थापामगर, पूर्व वडाध्यक्ष बालकृष्ण राणा,नेपाली कांग्रेसका वडा सभापति नन्दबहादुर पुन, नेकपा एमालेका वडा कमिटी अध्यक्ष घनबहादुर पुन,नेकपा माओवादी विप्लभका खिमबहादुर रोका,खानेपानी संस्थाका संस्थापक सदस्य होमबहादुर थापा,उपभोक्ता प्रकाश देवकोटा लगायतका वक्ताहरुले बोल्नुभएको थियो । कार्यक्रम समितिका अध्यक्ष दोलख खत्रीको अध्यक्षता एवम नगरप्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा अध्यक्ष दोलख खत्रीले धारा विस्तार गर्दै लगेको, प्रत्येक धारामा मिटर जडान गरिएको र सहुलितदरमा खानेपानी वितरण गरिएको बताउनुभयो । कार्यक्रमको सञ्चालन वसन्त पौडेलले गर्नुभएको हो । समितिमाफ्त पाँच सय धारा वितरण गरिएको छ ।

प्रकाशित मिति : २०८० बैशाख ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस