तुलसीपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले तुलसीपुर –१२ स्थित टरिगाउँ एयरपोर्ट ७२ करोडमा बन्ने बताएका छन् । सोमबार टरिगाउँ एयरपोर्टमा भएको एक औपचारिक कार्यक्रममा बोल्दै मुख्यमन्त्री चौधरीले ७२ सिटे जहाज बस्ने एयरपोर्ट विस्तारको काम गर्न ७२ करोड लाग्ने बताएका हुन् । उनले तत्कालै एयरर्पोट विस्तारको लागि काम अगाडी बढाउन आग्रह पनि गरे । तपाईहरु एयरर्पोटको विस्तारको काम अगाडी बढाउनुस् आवश्यक कुरा प्रदेश सरकारले सहयोग गर्छ मुख्यमन्त्री चौधरीले भने ।
मुख्यमन्त्री चौधरीले हाम्रो एयरपोर्ट हामी आफै बनाउनु पर्छ, प्रदेश सरकार, स्थानीय सरकार र क्यानलगायतले समन्वय गरेर अघि बढ्ने हो यो एयरपोर्टले पूर्णता पाउछ उनले भने । ७२ सिटे जहाज बसाउनको लागि १६ सय मिटरको धवनमार्ग आवश्यक रहेको र कपास विकासको जग्गा भए विस्तार गर्न सहज हुने बताए । उनले भने ‘मैले एयरपोर्ट बनाउने ठेकेदारसँग सल्लाह गर्दा ७२ सिटे जहाज बस्ने एयरपोर्ट बनाउने हो भने ठेकेदारले ७२ करोडमा बनाइदिने भनेपछि हामी उत्साहित भएका छौं ।’
उनले एयरपोर्ट विस्तार गर्दा खानेपानी टंकी र मन्दिर सार्नु पर्ने भएकाले जनतालाई असर नपर्ने गरी आजैबाट काम सुरु गरेर टंकी सार्न आग्रह गरेका छन् । साथै त्यसमा लाग्ने लागत प्रदेश सरकारले उपलब्ध गराउने पनि बताए ।
‘एयरपोर्ट आजैबाट बन्न सुरु हुन्छ, यसको नेतृत्व कसैले लिनुस् र १६ सय मिटरको एयरपोर्ट बन्यो भने ७२ सिटे जहाज बस्छ’ । मुख्यमनत्री चौधरीले भने । डिपो आइसकेको छ त्यसैले हामीले हाम्रो एयरपोर्ट आफै बनाउँछौं । केन्द्रीय सरकार ध्यानाकर्षण पनि गराइराखेका छौं, क्यानसँग पनि छलफल भइरहेको छ तर पनि हुन सकेन भने हामी आफै बनाउँछौं उनले भने ।
त्यस्तै लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री धनबहादुर मास्कीले दाङको गौरवको आयोजनाका रुपमा रहेको एयरपोर्ट अस्तव्यस्त, दुर्दशाका कारण सञ्चालन हुन नसकेको र स्तरउन्नति गरेर व्यवस्थित गर्न जरुरी रहेको बताए । ‘मुख्यमन्त्री र मेरो प्राथमिकतामा राखेर यो एयरपोर्टलाई सञ्चालनमा ल्याउने हो भनी पर्यटन मन्त्री र प्रधानमन्त्रीसँग कुरा गरेका छौं साथै आव ०८०/०८१ को बजेटमा व्यवस्थापन र निर्माण गर्नेबारे केन्द्र सरकारसँग भनेका छौं ।’ मन्त्री मास्कीले भने । ‘यो एयरपोर्ट दाङको प्रतिष्ठाको विषय हो त्यसैले प्रतिष्ठाको विषय बनाएर एयरपोर्ट सँग सम्बन्धित विषय बनाएर राजनीति नगरौं ।’
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले एयरपोर्टको डिपिआर तयार भएको बताउँदै अब काम अगाडी बढाउनु पर्ने र त्यसको लागी प्रदेश सरकारले बजेट विनियोजन गर्न आग्रह गरिन् । एयरर्पोट विस्तारको लागि स्थानीय सरकार, विभिन्न संघसंस्था, स्थानीय लगायत सबैको साथ र सहयोग आवश्यक रहेको बताइन् । ‘सबैभन्दा पहिले तुलसीपुर–घोराही अन्तर्गतको चारलेन सडक झट्टै बनाउनु पर्छ । जनताले धेरै सास्ती पाए । उनले भनिन् । ‘सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्न जरुरी छ, पढाइको स्तर खस्कदो क्रममा गइरहेको छ, साथै प्रादेशिक अस्पताल तथा सरकारी अस्पताललाई विकास र स्तरीय बनाउन जरुरी रहेको छ । ’
तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी प्रमुख आतिथ्यता, मन्त्री धनबहादुर मास्की(राजेश) र जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माका े विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन शरद रेग्मीले गरेका थिए ।