जिप दुर्घटना हुँदा एकको मृत्यु ९ जना घाइते

दाङ : रोल्पामा जिप दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्।

मृत्यु हुनेमा गंगादेव गाउँपालिका-२ ओइलामका १५ वर्षीय विद्यार्थी तिलक वली रहेको प्रहरीले जनाएको छ।

दाङको तुलसीपुरबाट रोल्पाको गंगादेव गाउँपालिका-६ राँक ताप्लाका लागि गएको लु १ ज ४७५५ नम्बरको जिप आइतबार साँझ करिब ५ बजेतिर गंगादेव गाउँपालिका-२ को हेलङखोलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता एवं प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा चालकसहित ९ जना घाइते भएको र उनीहरूको अवस्था सामान्य रहेको छ। उनीहरूलाई उपचारको लागि दाङको तुलसीपुर पठाइएको छ।

जिप सडकबाट करिब ३०० मिटर तल खसेको र तत्काल ब्रेक फेल हुँदा दुर्घटना भएको भन्ने खुलेको भए पनि यस विषयमा अनुसन्धान जारी रहेको प्रवक्ता भुसालले बताए।

प्रकाशित मिति : २०८० बैशाख १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस