जितपछि रवि लामिछानेले भने- सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्छु

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताएका छन् ।

चितवन क्षेत्र नं २ बाट पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिंँदै सभापति लामिछानेले आम नागरिकका अपेक्षा भनेको मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने पाएको बताएका हुन्। सुशासनको आशा सबैभन्दा बढी गरिएको बताउँदै उनले भने, “मेरो प्रमुख एजेन्डा सुशासन नै हो ।” यही अपेक्षालाई आफूले शिरोपर गरेको उनको भनाइ छ ।

सभापति लामिछानेले भने, “यही अपेक्षालाई आम जनताले अनुमोदन गरेको मैले महसुस गरेको छु ।” पहिलेको भन्दा धेरै मतका साथ विजयी हुँदै गर्दा जिम्मेवारी थपिएको भन्दै उनले राजनीतिक निर्णय गर्दा आफू थप जिम्मेवार भएर सोचेर गर्नुपर्ने अवस्थामा आएको बताए ।

उनले भने, “ठूला राजनीतिक निर्णय गर्दा आफू जिम्मेवार भएर सोच्नुपर्ने अवस्था सिर्जना भएको छ । यसलाई जिम्मेवारीका साथ लिनेछु ।”

अर्को प्रसङ्गमा सभापति लामिछानेले सरकारलाई गरेको समर्थन कतिपय अवस्थामा औचित्य नदेखिएको जस्तो आफूले पाएको बताए । यसबारेमा राजधानी फर्किएलगत्तै समीक्षा गरेर निर्णय गरिने उनको भनाइ थियो । “के भयो के भएन, त्यसका आधारमा सरकारलाई दिएको समर्थनको निरन्तरता दिनेरनदिने बारेमा निर्णय गर्छौं”, उनले भने, “अहिले त्यत्ति औचित्य देखिएको छैन ।”

प्रकाशित मिति : २०८० बैशाख १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस