तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको माध्यमिक विद्यालय सेन्टरले विद्यार्थीहरूसँग अभिभावकहरूलाई पनि निःशुल्क सीपमूलक तालिम दिन थालेपछि विद्यालय सबैको रोजाइमा पर्न थालेको छ । तुलसीपुर उपमहानगरपालिका ६ बस्ने सरिता विष्टले गत शैक्षिक सत्रमा आफ्ना छोराछोरीलाई तुलसीपुर–६ मा रहेको माध्यमिक विद्यालय सेन्टरमा भर्ना गरिन् । उनले छोरालाई कक्षा ७ सम्म र छोरीलाई कक्षा ४ सम्म बोर्डिङ स्कुलमा पढाएकी थिइन् । तर, मावि सेन्टरमा बोर्डिङ स्कुलको जस्तै पढाइ हुन थालेपछि विद्यालयमा पढाउन थालेको भन्दै उनले छोराछोरीको पढाइ राम्रो भएको समेत बताइन् ।
उनले भनिन्, ‘बोर्डिङ स्कुलमा पर्दा पनि छोराछोरीको पढाइ राम्रो थियो । अहिले यस विद्यालयमा पढ्न लागेको एक वर्ष भयो । यहाँ पनि राम्रो पढाइ छ । अब सरकारी विद्यालयमा बोर्डिङ स्कुलको जस्तो पढाइ र सुविधा पाइन्छ, भने किन धेरै पैसा खर्च गर्ने भनेर यहाँ भर्ना गरेका हौँ । यहाँको पढाइले गर्दा म धेरै खुशी भएकी छु ।’ यस्तै उनले यस विद्यालयमा पढाइदेखि सबै कुराहरू राम्रो हुँदा पनि आफूहरूको मन जितेको समेत बताइन् ।
अभिवभावकलाई ३ महिने निःशुल्क तालिम
यस्तै विद्यालयले बेरोजार अभिभावकहरुलाई स्वरोजगार बनाउनको लागि सिटिइभिटीको सहयोगको प्रत्येक वर्ष बेरोजगार अभिभावकहरूलाई लक्षित गरेर निःशुल्क कम्प्युटर अपरेटर र घर वाइरिङ सम्बन्धी सीप मूलक लेबल एक र दुईको तालिम दिँदै आएपछि अभिभावकहरू खुशी भएका छन् । सरिताले अहिले ३ महिने कम्प्युटर अपरेटर तालिम छोराछोरी पढ्न विद्यालयबाट निःशुल्क पाउँदा धेरै खुशी लागेको बताइन् । छोराछोरीसँग विद्यालय आएर पढेर जादा निकै खुशी लाग्ने गरेको उनको भनाइ छ । उनले तालिमसँगै खाजाको व्यवस्था भएको पनि बताइन् । उनले भनिन्, ‘म यो तालिम नलिदासम्म घरमा त्यतिकै बस्दै आएकी थिए । तर, अहिले कम्प्युटरको लिएर धेरै फाइदा भएको छ । घरमा त्यतिकै बसेर समय बितिरहेको थियो । अब यो सीपबाट म केही आत्मनिर्भर बन्न सक्छु, जस्तो लागेको छ । यसरी छोराछोरी पढ्ने विद्यालयले अभिभावकलाई स्वरोजगार बनाउने उद्देश्य राखेको हुँदा पनि सबैको मन जित्न थालेको छ ।’
निःशुल्क पढ्दै, पैसा पाउँदै
विद्यालयले स्विच सरकारको सहयोगमा कक्षा १० पछि निःशुल्क प्रिडिप्लोमा अन्तर्गत आईटी र इलेक्ट्रिकल विषयमा २ वर्षीय पढाइ भइरहेको छ । यस विषय पढ्ने विद्यार्थीले ४० हजारदेखि ५२ हजारसम्म पैसा पाउने गरेको विद्यालयका प्रअ पौडेलले बताए । उनका अनुसार विद्यार्थीहरूलाई ड्रेस र बिमाको व्यवस्था समेत हुने गरेको छ ।
यस्तै रोल्पा सुनछहरी गाउँपालिकाका दिल बहादुर सार्कीले निःशुल्क प्रि आईटी डिप्लोमा पढ्दै आएका छन् । उनले विद्यालयमा निःशुल्क आफूले रोजेको विषय पढ्न पाउँदा धेरै खुशी लागेको पनि बताए । उनका अनुसार विद्यालयले दैनिक खाजा खर्च ७५ रुपैयाँ र ड्रेसको लागि पैसा दिने गरेको छ । यस्तै उनले आफू कक्षा १२ सम्म रोल्पामा पढेको भएयता पनि अहिले यस विद्यालयमा निःशुल्क पढ्न पाउँदा धेरै खुशी लागेको बताए ।
उनले भने, ‘अहिले निःशुल्क पढ्दै आएका छौँ । खाजा खर्च र ड्रेस पनि पाउँदै आएका छौँ । तर, टाढाबाट पढ्न आउने विद्यार्थीहरूलाई छात्रवास भए अझ राम्रो हुन्थ्यो । यही विषय बाहिर पढ्नको लागि २÷४ लाख खर्च लाग्थ्यो, होला तर, यहाँ निःशुल्क पढ्न पाएका छौँ ।’ यस्तै उनले आफू कक्षा १ देखि १२ सम्म सरकारी विद्यालयमा पढेको हुँदा पनि आईटी विषय अंग्रेजी माध्यममा बढ्नु पर्दा बुझाईमा केही समस्या हुने गरेको पनि बताए ।
यस्तै सल्यानकी लक्ष्मी न्यौपानेले पनि यही विषय पढ्दै आएकी छन् । उनले पनि विद्यालयमा निःशुल्क पढ्न पाउँदा धेरै खुशी लागेको बताइन् । उनी पनि कक्षा १२ सम्म सल्यानमा पढेर यो विषय पढ्नको लागि मावि सेन्टरमा आएकी हुन् । यस्तै उनले आफ्नो भित्री इच्छा पनि आईटी विषय पढ्ने भएको र विद्यालयमा निःशुल्क पढ्न पाइने भएकाले आएको बताइन् ।
उनका अनुसार पछिल्लो समय आईटी विषय पढ्न छात्राहरूको रुचि बढ्दै गएको छ । आफ्नो कक्षामा पनि छात्र भन्दा छात्राहरू धेरै भएको उनको भनाइ छ । उनले भनिन्,‘ मेरो इच्छा पनि आईटी पर्ने थियो । सल्यानमा कक्षा १२ सम्म अरु विषय पढे । पछि यहाँ निःशुल्क पढ्न मिल्ने थाहा पाएपछि घरपरिवारले पनि पठाउनु भयो । अहिले आफ्नो रुचिको विषय पढ्न पाउँदा धेरै खुशी लागेको छ । ’ यस्तै उनले अन्य विषयमा भन्दा आईटी विषयमा राम्रोसँग पढेपछि जागिर पाउने सम्भावना बढि हुने भएकाले पनि आकर्षण बढ्दै गएको पनि बताइन् ।
विद्यालयमा विद्यार्थी आउने क्रम बढ्दै भौतिक संरचनाको अभाव
पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीहरूको संख्या घटिरहेको अवस्थामा आफ्नो विद्यालयमा विद्यार्थीहरूको चाप बढि रहेको विद्यालयका प्रधानध्यापक भागवत पौडेलले बताए । विद्यालयमा अहिले साधारण तर्फ कक्षा १ देखि १२ सम्म अंग्रेजी र नेपालीमा पढाइ भइरहेको विद्यालयले जनाएको छ । यस्तै कक्षा ९ देखि १२ सम्म इलेक्ट्रिकल विषयमा पढाइ भइरहेको उनले बताए । उनका अनुसार कक्षा १० पछि सूचनाप्रविधि इन्जिनियरिङ र जियो मेट्रिक्स इन्जिनियरिङमा डिप्लोमा तहको ३ वर्षीय कोर्षको पढाइ हुन्छ । यस्तै कक्षा ११ र १२ मा म्यानेजमेन्ट विषयको पढाइ हुने गरेको पनि उनले बताए ।
उनले भने,‘ विद्यार्थीहरू भर्ना गर्न अभिभावकहरू आउनु हुन्छ । तर, हामीलाई ठाउँको अभावले गर्दा विद्यार्थीहरू भर्ना गर्न सक्दैनौँ । हामीसँग अभिभावकहरू झगडा गर्नु हुन्छ । अहिलेको हाम्रो संरचनाले २५ सय भन्दा बढि विद्यार्थी थेग्न सक्दैनौँ । तर, हामीलाई राज्यबाट सहयोग भइरहेको छ । भवनहरू बनिरहेका छन् । तर, ति अहिले अपुग रहेका छन् । ’ अहिले विद्यालयमा ४८ वटा कोठाहरू रहेकोमा ४२ वटा कक्षहरू सञ्चालन हुँदै आएको पनि उनको भनाइ छ । करिब १५ वटा ल्याब, अफिस, स्टोर लगायत रहेका छन् । कोठा अभावका कारण विद्यार्थीहरूलाई ल्याब, स्टोर कोठा, स्टाफ कोठामा राखेर पढाउन बाध्य भएको पनि उनले बताए ।
उनका अनुसार कक्षा कक्षा ८ मा ४ वटा सेक्सन मध्य २ वटामा अंग्रेजी, कक्षा ९ मा ४ वटा सेक्सन रहेकोमा ४ वटा अंग्रेजी माध्यमको र कक्षा १० मा ५ वटा सेक्सन रहेकोमा ३ वटा अंग्रेजी माध्यमबाट पढाइ हुन्छ । पछिल्लो समय विद्यालयमा निजी विद्यालयबाट आउने क्रम बढिरहेको पनि उनको भनाइ छ ।
यो शैक्षिक सत्रमा कम्तिमा ५ प्रतिशत मात्र विद्यार्थी भर्ना गर्ने
अब आउँदो शैक्षिक सत्रको लागि विद्यार्थीहरू भर्ना हुन आउने क्रम जारी रहेको भएयता पनि कम्तिमा ५ प्रतिशत मात्र विद्यार्थीहरू भर्ना गर्न सकिने उनको भनाइ छ । उनले भने,‘ हाम्रो विद्यालयबाट पनि त्यति मात्रामा विद्यार्थीहरू बाहिर जान सक्छन् । त्यही अनुपातमा हामीले भर्ना गर्ने हो । गत वर्ष सयौँ विद्यार्थीहरू आएका थिए, भर्ना हुनको लागि हामीले भर्ना गर्न सकेनौँ । अहिले पनि आउने क्रम जारी रहेको छ । विद्यार्थीहरू मात्र भर्ना गरेर भएन । राख्ने ठाउँ पनि छैन् ।’
अहिले विद्यालयमा ८ कोठाको भवन बन्दै गरेको भएयता पनि त्यहाँ विभिन्न कक्षाहरू सञ्चालन गर्दा प्याक हुने भन्दै उनले यस वर्षदेखि विज्ञान संकाय सञ्चालन गर्ने योजना रहेको पनि उनले बताए । अहिले ३ सिफ्टमा पढाइ भइरहेको पनि उनले बताए ।
सिटिइभिटीले तोकेको शुल्क एक लाल ९० हजार, विद्यालयले साढे एक लाखमा पढाउँदै
विद्यालयमा सञ्चालन भएका इन्जिनियरिङ तर्फको शुल्क सिटिइभिटीले ३ वर्षसम्मको लागि एक लाख ९० हजार तोकिदिएको छ । तर, विद्यालयले एक लाख ५० हजारमा पढाउँदै आएको उनले बताए । उनले भने, ‘सिटिइभिटी विद्यालयहरूले धेरै शुल्क लिन लागे भनेर कन्ट्रोल गर्नको लागि एक लाख ९० हजार तोकिदिएको हो । तोकिएको शुल्क भन्दा तल कसैले पनि पढाउँदैनन् । तर, हामीले साढे एक लाखमा बढाउँदै आएका छौँ ।’
उनका अनुसार गत आर्थिक वर्षमा आईटीमा ७० लाखको आम्दानी भएको र करिब ३० लाख खर्च हुँदा ४० लाख बचत भएको थियो । यस्तै अहिले पनि साढे एक लाखमा पढाउने योजना भइरहेको र अब जिओ मेट्रिक्सको लागि ५० लाखको सामान किन्नु पर्ने अवस्था रहेको र त्यो समान किनेपछि एक लाख २५ हजार देखि एक लाख सम्ममा पढाउने योजना बनाएको पनि उनको भनाइ थियो ।
स्थापनाकालदेखि आईटीमा नेपालकै उत्कृष्ट विद्यालय बन्दै
मावि सेन्टरले २०७३ सालदेखि प्राविधिक शिक्षा पढाउन शुरु गरेको हो । तर, विद्यालयले यो विषय पढाउन शुरु गरेदेखि अहिलेसम्म नेपाल नै उत्कृष्ट नतिजा ल्याउँदै आएको प्रअ पौडेलको भनाइ छ । उनले भने, ‘प्रायः सबै विद्यार्थीहरूले प्रथम श्रेणीमा पास हुँदै आएका छन् । यस्ता कारणले गर्दा र तुलसीपुर बजारको केन्द्रबिन्दुमा भएकाले र सेवासुविधा पनि राम्रो भएकाले विद्यार्थीहरूको आकर्षण यो विद्यालयमा बढेको पाइन्छ ।
अभिभावकले आफ्ना विद्यार्थीको गतिविधि मोबाइलबाट हेर्न मिल्ने
पश्चिम दाङ मै मावि सेन्टरले २०७३ सालदेखि नै नयाँ प्रविधि जडान गरेर सम्पूर्ण अभिभावहरूले आफ्ना छोराछोरीको गतिविधि मोबाइलबाट हेर्न मिल्ने गराएको छ । कुनै पनि अभिभावकले आफ्ना छोराछोरीहरूले विद्यालयमा के गरेका छन् । विद्यालय आएका छन की, छैन्, भनेर घरमै बसेर हेर्ने मिल्ने प्रविधि ल्याएको विद्यालयका प्रअ पौडेललेको भनाइ छ । यसले गर्दा आफ्ना छोरा छोरीमा गतिविधि मात्र नभइ विद्यालय समयमा शिक्षकहरू आएको नआए र कक्षाकोठामा कति समयसम्म पढाएको नपढाएको कुराहरू पनि सजिलै हेर्न मिल्ने पनि उनको भनाइ छ । यसले गर्दा विद्यार्थीहरू र शिक्षकलाई अनुशासित बनाएको पनि उनले बताए । – साक्षीखबरबाट


