काठमाडौं । आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा तीन जिल्लामा शुक्रबार (आज)देखि निर्वाचन आचारसंहिता लागू भएको छ ।
चितवन क्षेत्र नम्बर–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । आचारसंहिता ती तीन जिल्लामा मात्र उपनिर्वाचन सम्पन्न नभएसम्मका लागि लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
निर्वाचन आयोगले मन्त्रीहरु, उपनिर्वाचनका उम्मेदवार, मतदाता, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय कार्यपालिकाका सदस्य, शिक्षक, निजी तथा गैर सरकारी संस्थाका पदाधिकारी र कर्मचारी, विकास साझेदार संस्था लगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।
तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तारलाई आचारसंहिताले नरोक्ने आयोगका प्रवक्ता पौडेलले बताए ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएयता सात पटक मन्त्रिपरिषद विस्तार गरे पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन । उनले सार्वजनिक कार्यक्रममा एक–दुई दिनमै मन्त्रिपरिषदलाई शतप्रतिशत पूर्णता दिने बताउँदै आएका छन् ।


