काठमाडौं । सिइओ एलन मस्कले ट्वीटरको लोगो नै फेरिदिएका छन् । यो सँगै ट्वीटरबाट निलो चरा गायब भएको छ र ट्वीटरको लोगोमा कुकुरको चित्र ल्याइएको छ ।
मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुर अर्थात् डगीको मिमलाई नै ट्वीटरको लोगो बनाएका हुन् ।
अब ट्वीटरमा लगअन गर्ने बित्तिकै त्यही कुकुरको चित्रले तपाईंलाई स्वागत गर्नेछ । साथै ट्वीटर होमपेजको माथिल्लो बायाँपट्टि रहेको लोगोमा पनि शिवा तथा काबोसु नामक उक्त कुकुरको चित्र नै देखिन थालेको छ ।
यो परिवर्तन हाल ब्राउजरमा देखिएको छ । मोबाइल एपमा भने पुरानै निलो रंगको चरा नै देखिन्छ ।
विवादास्पद क्रिप्टोकरेन्सी डोजेक्वाइनको लोगोमा पनि यही कुकुरको तस्वीर छ । हाल मस्कले उक्त क्रिप्टोकरेन्सीको २५८ अर्ब डलर फिरौती सम्बन्धी मुद्दा झेलिरहेका छन् । त्यो मुुद्दा म्यानहटन अदालतमा जारी छ । मस्कमाथि डोजेक्वाइनको पिरामिड शैलीबाट रकम उठाएको तथा क्रिप्टोकरेन्सीमार्फत् नै ठगी तथा जुवा खेलाएको पनि आरोप छ ।
ट्वीटरको निकै सुन्दर तथा आइकनिक निलो चराको लोगोको ठाउँमा कुकुरको पहेँलो तथा सुन्तला रङको तस्वीर देखा परेसँगै प्रयोगकर्ताहरु अचम्मित भएका छन् । मस्कले एउटा ट्वीटर मार्फत् ट्वीटरको लोगो उक्त डगी नै भएको पुष्टि गरेका छन् ।
स्मरण रहोस् एलन मस्कले डगीका विषयमा पहिले नै संकेत दिएका थिए । गत फेब्रुअरीमा उनले सोही कुकुरको एउटा फोटो ट्वीट गरेका थिए । त्यसको क्याप्सनमा मस्कले ट्वीटरको नयाँ सिइओ गज्जबको रहेको उल्लेख गरेका थिए ।
तस्वीरमा उक्त कुकुर ट्वीटरको सिइओको कुर्सीमा बसेको देखिन्थ्यो । त्यसको अगाडिको टेबलमा एउटा कागज राखिएको थियो जसमा कुकुरको नाम ‘फ्लोकी’ लेखिएको थियो । त्यसको तल उसको पद ‘सिइओ’ लेखिएको थियो ।
यद्यपि उक्त कागजमा ट्वीटरको पुरानै लोगो थियो । मस्कले त्यो पुरानो लोगोलाई सोही कुकुरको तस्वीरले परिवर्तन गर्ने कुराको संकेत त्यहीँबाट गरेका भए पनि त्यसबेला कसैले त्यसको अनुमान गर्न सकेनन् ।
– एजेन्सी


