मकवानपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै छन् । सरकारमा रहेको नेकपा एमालेले आजै सरकार छोड्ने तयारी गरेको छ ।
आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकबाट मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।
आजै विश्वासको मत लिने र आजै नेपाली कांग्रेसबाट एक जना भए पनि मन्त्री नियुक्त गर्ने तयारीसमेत भएको मुख्यमन्त्री जम्मकट्टेलले बताए ।
मुख्यमन्त्रीलाई नेपाली कांग्रेस, एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र लगायतका दलहरुले विश्वासको मत दिनेछन् । सरकारको विपक्षमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी रहने छन् ।
तत्कालीन सत्ता साझेदार दल राप्रपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री जम्कट्टेलले ६५ दिनमै दोस्रो पटक संसदबाट विश्वासको मत लिन लागेका हुन् ।
गएको पुस २६ गते मन्त्रिपरिषद् गठन हुँदा एमाले, माओवादी केन्द्र र राप्रपाबीच बनेको समीकरण राष्ट्रपतिको चुनावसँगै भत्किएपछि राप्रपाले फागुन १३ गते शनिवार सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएको थियो ।
यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए ।
एक सय १० जना सांसद रहेको प्रदेश सभामा सामान्य बहुमतका लागि कम्तीमा ५६ जना सांसदको समर्थन आवश्यक पर्छ ।



