राहदानीमा रविविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं । महान्यायाधिवक्ता दिनमणि पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी ऐन विपरीतको कसूरमा मुद्दा चलाउन नसकिने निर्णय गरेका छन् ।

पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेमाथि लागेको आरोप पुष्टि हुन नसक्ने निष्कर्षसहित प्रहरीले बुझाएको रायसहितको अनुसन्धान प्रतिवेदनका आधारमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने निर्णय गरेको कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले बताए ।

उनले भने, ‘झुठो विवरण पेश भएको भन्ने देखिएन, त्यो राहदानी विभागमा पुगेर रद्द समेत भइसकेको रहेछ । त्यसकारण मुद्दा नचल्ने निर्णय भयो ।’

लामिछानेले झुटो विवरण पेश गरेको पुष्टि नहुने भएकाले उनीमाथि मुद्दा चलाउनु नपर्ने प्रहरीको राय थियो । कुनै पनि फौजदारी कसुर हुने जाहेरीका आधारमा मुद्दा नचल्ने भएमा प्रहरीले पेश गरेको प्रतिवेदनमाथि जिल्ला सरकारी वकिलले निर्णय गर्नुपर्ने व्यवस्था थियो ।

त्यसअनुसार जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले गरेको निर्णय उच्च सरकारी वकिलको कार्यालय, पाटन हुँदै महान्यायाधिवक्ता कार्यालय पुगेको थियो ।

कार्यालयमा नायब महान्यायाधिवक्ताले दिएको रायसहितको प्रतिवेदनका आधारमा महान्यायाधिवक्ता दिनमणि पोखरेलले मुद्दा नचलाउने निर्णय गरेका हुन् ।

प्रकाशित मिति : २०७९ चैत्र ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस