काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा विशेष कार्यक्रमकाबीच यादवले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खाएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा)बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
निर्वाचन आयोगले आइतबार उपराष्ट्रपति निर्वाचनबारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको थियो । निर्वाचन आयोगका अनुसार उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ६२८ मतभारमध्ये यादवले ३० हजार ३२८ मतभार प्राप्त गरी विजयी भएका थिए । उपराष्ट्रपति पदमा अष्टलक्ष्मी शाक्य, प्रमिलाकुमारी यादव र ममता झा पनि उम्मेदवार थिए । उपराष्ट्रपतिमा निर्वाचित भएसँगै यादवले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिइसकेका छन् ।
निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पासाङको कार्यकाल चैत ४ गते सकिएको थियो ।