खड्का दम्पतीले गरे १४ लाख बराबरको जग्गा दान

तुलसीपुर । तुलसीपुरको नयाँ बसपार्क पुलचोकमा जारी श्रीमद्भागवत महापुराण तथा शिव चर्चामा दानदाताको सहभागिता बढ्दै गएको छ । जारी महापुराणमा सोमबार तुलसीपुर–९ बेलुवा निवासी रुद्रसिंह खड्का र उनको श्रीमती बिमला खड्काले १४ लाख बराबरको जग्गादान गरेका हुन् ।

खड्का दम्पतीले स्वर्गीय हजुरबुवा झुपि खड्का र बुवा गृहलाल खड्काको सम्झनामा जग्गादान गरेका हुन् । आठ मिटर चौडाई र १८ मिटर लम्बाई क्षेत्रफल रहेको जग्गा खड्का दम्पतीले दान गरेका छन् ।

खड्का दम्पतीले यसअघि पनि टोलविकास संस्थाको भवन र मन्दिर बनाउन जग्गादान गरेका थिए । जयशिव मंहाकाल मानवसेवा आश्रमको आयोजनामा फागुन २४ गतेदेखि जारी महापुराणमा १४ लाख बराबरको जग्गासहित नगद २ लाख ७० हजार बढी सहयोग प्राप्त भएको हो ।

अशक्त, असाहय, दुःखी, गरिबका लागि भोक र प्यास विरुद्धको महाअभियानका साथ आश्रमले श्रीमद्भागवत महापुराण तथा शिव चर्चा सञ्चालन गरेको छ । कोही नभएका र केही नभएकाहरुलाई निःशुल्क रुपमा साँझ बिहान खाना खुवाउँदै आएको जय शिव महाकालले गरिब दुःखीहरुलाई बासस्थान बनाउनको लागि र उपचारमा पनि सहयोग होस् भन्ने उद्देश्यका साथ श्रीमद्भागवत महापुराण सञ्चालन गरेको हो ।

महापुराणमा दैनिक रुपमा कथा वाचनका साथै शिव चर्चा समेत हुने गरेको छ । महापुराणको प्रमुख कथा वाचकमा अच्युतशरण धिताल रहेका छन् भने उपकथावाचकमा पण्डीत अंगिरा जोशी रहेका छन् ।

जारी महापुराणमा सोमबारमात्रै तुलसीपुर–७ निवासी भिमार्जुन पौडेलले १५ हजार ७५०, तुलसीपुर–९ मा रहेको जीवनप्रेम एजुकेशनले ११ हजार ५५, तुलसीपुर–५ निवासी दिनेश कुमार खड्काले ११ हजार , तुलसीपुर–९ निवासी मेघराज खड्काले ११ हजार नगद सहयोग गरेका छन् ।

यसैगरी शान्तिनगर–४ निवासी इन्द्रलाल खडेलले ५ हजार ६ सय ५, तुलसीपुर–९ निवासी तथा हाल भारतमा रहेका डम्बर पुरीले ५ हजार १ सय ५५, तुलसीपुर–९ को अमृतपुर टोल विकास संस्थाले ५ हजार ५ सय ५५ र शिवज्योती टोल विकास संस्थाले ५ हजार ५ सय ५, तुलसीपुर–५ निवासी प्रेमसिंह बुढामगरले ५ हजार १०५, तुलसीपुर–५ निवासी पवन भण्डारीले ५ हजार ५ सहयोग गरेका छन् ।

जारी महापुराण अन्य दाताहरुले पनि नगद सहयोग सहयोग गरिरहेको आर्थिक संयोजक शेर बहादुर घर्तीले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस