तुलसीपुर बसपार्क स्थित श्रीमद्भागवत महापुराणमा भक्तजनहरुको घुइँचो

तुलसीपुर । तुलसीपुरको नयाँ बसपार्क पुलचोकमा जारी श्रीमद्भागवत महापुराण तथा शिव चर्चा २०७९ मा भक्तजनहरुको उल्लेखनीय सहभागिता रहेको छ । पहिलो र दोस्रो दिनको तुलनामा तेस्रो दिन शुक्रबार मात्रै महापुराणमा उल्लेखनीय भक्तजनहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

अशक्त, असाहय, दुःखी, गरिबका लागि भोक र प्यास विरुद्धको महाअभियानका साथ जयशिव महाकाल मानव सेवा आश्रमले फागुन २४ गतेदेखि श्रीमद्भागवत महापुरान तथा शिव चर्चा सञ्चालन गरेको छ । खासगरी कोही नभएका र केही नभएकाहरुलाई निःशुल्क रुपमा साँझ बिहान खाना खुवाउँदै आएको जय शिव महाकालले गरिब दुःखीहरुलाई बासस्थान बनाउनको लागि र उपचारमा पनि सहयोग होस् भन्ने उद्देश्यका साथ श्रीमद्भागवत महापुरण सञ्चालन गरेको हो ।

महापुराणमा दैनिक रुपमा कथा वाचनका साथै शिव चर्चा समेत हुने गरेको छ । महापुराणको प्रमुख कथा वाचकमा अच्युतशरण धिताल रहेका छन् भने उपकथा वाचकमा पण्डीत अंगिरा जोशी रहेका छन् ।

कपडा पनि दान गर्न सकिने
श्रीमद्भागवत महापुराण तथा शिव चर्चा २०७९ मा भक्तजनहरुले कपडा समेत दान गर्न सक्ने आयोजकले जनाएको छ । पुरानो तर सफा नच्यातिएको कपडाहरु दान गर्न सकिने आयोजक जयशिव महाकालका सचिव शम्भु बुढा मगरले जानकारी दिए ।

‘हामीसँग थुप्रै कपडाहरु पुरानो भयो भनेर प्रयोग नै नगरेर राखेका हुन्छौ तर कतिपय दुःखी गरिबहरुले त्यही कपडा समेत किनेर लगाउन नसक्ने अवस्था पनि छ’ सचिव बुढाले भने ‘त्यसकारण हामीले कपडा दानको पनि व्यवस्था गरेका हौं, अहिले कपडा दान गर्नेहरु पनि बढिरहनु भएकोे छ ।’

कपडा दान अभियानलाई पनि निरन्तरता दिने पनि उनले बताए । श्रीमद्भागवत महापुराण तथा शिव चर्चा फागुन ३० गतेसम्म सञ्चालन हुनेछ।

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस