बिजौरी । औषधिराज पौडेले पेसाले अडिटर हुन् । घर दुधरास, कार्यालय घोराही, कार्यक्षेत्र घोराहीदेखि तुलसीपुरसम्मै । मोटरसाइकलमा आउजाउ गर्थे, तर दुई महिनादेखि उनको मोटरसाइकल घरमै थन्किएको छ ।
गत विहीबार उनी त्रिसिद्धेश्वरीको सार्वजनिक यातायात सेवाको लोकल बसमा भेटिए । ‘मोटरसाइकल खोइ र ? किन बसको यात्रा’ प्रश्न पुरा नगर्दै भने दाजु, मोटरसाइकलमा यात्रा गरे त घरमा परिवारले चिन्दैनन् । धुलाम्मे सडकमा कष्टकर यातायात हुने भएपछि उनले दुई महिनादेखि घरमै मोटरसाइकल थन्क्याएका छन् । उनको घर घोराही—तुलसीपुर राजमार्गसँगै जोडिएको छ । त्यसपछि उनले भने, ‘मैले मोटरसाइकल मात्र छाडेको होइन, घरमा फलाएको तरकारी पनि खान मिल्दैन । चारलेन पहिले क्षतविक्षत भएर खाल्टै खाल्टा पर्यो, त्यसपछि युवाहरुले खाडलहरु पुरे । यसले गाडिहरुलाई त यात्रा केहि सहज भएको छ, तर मोटरसाइकल चालकहरुलाइ भने हत्ते छ ।’
नारायणपुरका भोला बुढाथोकी पनि अहिले मोटरसाइकलमा यात्रा रोकेका छन् । उनको घर नारायणपुर हो । धुलाम्मे सडकमा कपडा बिग्रने मात्र होइन, बाह्रै महिना नाक बुझिने र फोक्सोमा पनि धुलोका कारण समस्या भएपछि उनी पनि घोराही—नारायणपुरको यात्रा बसमै गर्छन् । तुलसीपुर उपमहानगरपालिका—१७ का सन्तोष डाँगीको रोजाइ पनि अहिले सार्वजनिक बस बनेको छ । उनी पनि आफ्नो भर्खरै किनेको नयाँ मोटरसाइकललाई घरमै थन्क्याएर बसमा घोराही—तुलसीपुर आउजाउ गर्छन् । ‘अगाडि टिप्पर पर्यो भने त धुलाले आँखै देखिंदैन, कुन बेला कहा ठोकिने ठेगानै हुँदैन’, डाँगीले तर्क गरे ।
फागुन भरी विहेको सिजन । अघिल्ला विवाहका सिजनमा श्रीमानको वाइकमा टंगिएर साडी सम्हाल्दै विहे भोजमा जाने महिलाहरुले यस पटकको विहेमा त्यसो गरेनन् । उनीहरुको विहेभोज अलि महंगो पर्यो । वाइकमा गए पुरै साडी र मेकप वर्वाद, सार्वजनिक बसमा गए हिनताबोधको अवस्थाले विहेको सिजनभरी अटोहरुमा विवाहको भोजको पहिरनमा सजिएका महिलाहरु देखिन्थे ।

उनीहरु त प्रतिनिधि पात्र मात्रै हुन् । सयौं मोटरसाइकल यात्रुहरुले यस्तै सास्ती भोग्दै आएका छन् । सडक किनाराका सयौं स्थानीयबासीहरुले यस्तै सास्ती भोग्दै आएका छन् रोगको शिकार बन्दै आएका छन् । धेरैलाई दम र निमोनियाले सिकार बनाएको चिकित्सकहरुले बताएका छन् । ‘यस क्षेत्रका बालवालिकामा अत्यधिक निमोनियाको सम्भावना हुने छ भने बृद्धबृद्धाहरु दमका शिकार बन्ने छन्’, वीर अस्पतालमा कार्यरत वरीष्ठ कल्सल्टेन्ट फिजिसियन डा मीनचन्द्र अधिकारीले भने । धुलोका कारण छालाका पनि धेरै समस्या हुने वरीष्ठ छालारोग विशेषज्ञ डा प्रताप पोख्रेलले बताएका छन् । यी नागरिक समस्यामा सरकारी उच्च अहोदाका व्युरोक्रयाट्स र राजनेताहरुमा कुनै गम्भीयता देखिएको छैन ।
सुरुमा सडकका खाडल पुर्न नागरिक दवाव परेपछि घोराही र तुलसीपुरका युवा समाजसेवीहरुको पहलमा खाडलहरु पुरिए । एक झरी पनि पानी पर्न सकेन । त्यसपछि सडकमा हालिएको माटो मिस्कटले अचेल सडक अचम्मको धुलाम्मे बनेको छ । त्यहि भएर हात्तिखौवाका स्थानीयबासीहरुले तुलसीपुरको हात्तिखौवा चोकमा पानी छम्कने आन्दोलन गरे । उनीहरुले नगरपालिकामा घेराउ गरेपछि केही समय यता तुलसीपुर उपमहानगरपालिकाले हात्तिखौवा क्षेत्रमा पानी छम्क्यो । तर मोतीपुर, पर्सेनी बिजौरी बेलझुण्डी सडक क्षेत्र धुलाले वेहाल छ । घोराहीको सेवारखोला गुर्जेखोला र नारायणपुर क्षेत्र पनि वेहाल छ । त्यहीँ कारण पछिल्लो एक महिना यता यो सडक खण्डमा मोटरसाइकलको चाप पनि धेरै कम भएको सडकमा ड्युटि गर्ने ट्राफिक प्रहरीले अनुमान गरेका छन् ।
सडकमै सुत्ने नागरीक चेतावनी
यसैबीच घोराहीका नागरीकहरुले धुलाम्मे सडक पुर्ननिर्माण एवं मर्मत नभए सडकमै सुत्ने चेतावनी दिएका छन् ।
क्षतविक्षत सडकमा नागरिक अल्टिमेटम
घोराहीको मुटुमै रहेको कटुवाखोला—डिके पम्प लगायत डिभिजन सडक कार्यालयले हेर्ने जिल्लाका अन्य सडकहरुको अवस्था पनि क्षतविक्षत भएपछि सडक स्तरोन्नतीका लागि नागरिकहरुले अल्टिमेटम दिएका छन् । त्यसका लागि घोराहीको सडक डिभिजन कार्यालयमा एक घण्टा अल्टिमेटम स्वरुप ताला लगाइएको हो । मंगलबारसम्म पनि मर्मतको काम सुरु नभए नागरिकहरु सडकमै सुतेर विरोध गर्ने चेतावनी समेत दिएका छन् ।

संघीय सरकारको भौतिक निर्माण मन्त्रालय, यातायात विभाग, यातायात विभाग माताहतकै रोड इम्प्रुभमेन्ट परियोजना, परियोजना माताहतको लमहीमा रहेको चारलेन सडक परियोजना कुनै पनि निकायले यसमा कुनै गाम्भिर्यता नदेखाएपछि नागरिकहरु बाध्य भएर सोमबार विहान एक घण्टा घोराहीस्थित सडक डिभिजनको कार्यालयमा ताला समेत लगाएका छन् ।
जिल्लाको घोराही तुलसीपुर, घोराही लमही सडक चारलेन तथा अरु सडक निर्माणमा भइरहेको ढिलाइ हुँदा नागरिकहरुले दुःख पाएको भन्दै कार्यालयमा तालाबन्दी गरेका हुन । सिद्धार्थ गौतम टोल विकास संस्था, वयलडाँडा चौतारी क्लवको नेतृत्वमा नागरिक अगुवा, स्थानीयवासी, व्यावसायी, राजनीतिक दलका नेता, तथा सर्वसाधारणसहित कार्यालयमा पुगेका टोलीले विहान १० बजेदेखि ११ बजेसम्म मुल गेटमा ताला लगाएर कर्मचारीलाई कार्यालय प्रवेशमा समेत रोकेका थिए । – साक्षी खबरबाट


