दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने तयारी

काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो ।

गत २ फाुगनमा बोर्डले मन्त्रालयलाई मूल्य विश्लेषण प्रतिवेदन बुझाएको थियो । जसअनुसार लिटरमा १४ रुपैयाँसम्म लागत महँगिएको भए पनि १० रुपैयाँ मात्रै बढाउन सिफारिस गरिएको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।

बोर्डका निमित्त कार्यकारी निर्देशक बालक चौधरीकाअनुसार किसानको दुग्ध उत्पादन लागतबारे बोर्डले सातै प्रदेशमा अध्ययन गरेको थियो । जसअनुसार मूल्य बढाउनै पर्ने देखिएको उनले बताए ।

बोर्डले गत २ फागुनमा मूल्य बढाउने बारेको अध्ययन प्रतिवेदन मन्त्रालयका सचिवलाई बुझाएको थियो । मूल्य बढ्न प्रतिवेदनबारे मन्त्रालयले थप छलफल गरेर मन्त्रिपरिषद्‍मा मूल्य सिफारिस गर्नेछ ।

गत वर्ष २८ माघमा पनि सरकारले सबै प्रकारका दूधको उपभोक्ता मूल्य लिटरमा ९ देखि १४ रुपैयाँसम्मले बढाएको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस