बेलझुण्डि , राष्ट्रपति विद्यादेवी भण्डारीले हामी अहिले सांस्कृतिक पूर्ण निर्माणको सङ्घारमा उभिएको बताउनुभयो । बुधबार दाङको बेलझुण्डीमा रहेको नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद शिक्षण भवनको समुद्घाटन समारोहमा बोल्दै उनले नेपालको राजनीतिक, आर्थिक, सामाजिक नैतिक पूर्ण निर्माण गर्दै यि सबैको समष्टि रूप सांस्कृतिक पूर्ण निर्माणको सङ्घारमा उभिएको बताउनुभयो ।
उहाँले अहिले सांस्कृतिक पूर्ण उत्थानको महान यात्रामा गतिशील रहेको बताउनुभयो । उहाँले यसलाई नेपाली सम्भ्यताका पुर्न जागरण नाम दिएको पनि उल्लेख गर्नुभयो । विश्वका हरेक देशमा राष्ट्रिय पूर्ण जागरण यात्रालाई त्यहाँका विश्वविद्यालय तथा बौद्धिक संस्थाहरूले नेतृत्व दिएर गन्तव्यमा पु¥याएका उदाहरणहरू पाइएको भन्दै नेपालका सन्दर्भमा पनि राष्ट्रिय पूर्ण निर्माणको गुरुत्तरको अभियानको नेतृत्व विश्वविद्यालय र प्राङ्गिक संस्थाहरूले लिनु पर्ने सुझाव दिनुभयो ।
पछिल्लो समयमा पूर्वीय दर्शन अध्ययन गर्ने प्रवृत्ति संसार भर बढिरहेको भन्दै यस विश्वविद्यालयलाई त्यो रुपमा अगाडि बढाउनु पर्ने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले बताउनुभयो । यस विद्यालयलाई राष्ट्रिय रुपमा मात्र नभइ अन्तराष्ट्रिय रुपमा विकास गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।

विश्वविद्यालयले ४ वटा वेद, वेदान्त र धर्म दर्शन, भाषा, साहित्य, धर्म शास्त्र र पुराण जस्ता १७ वटा शास्त्रीय विषय आचार्य र विद्यावारिधि सम्मको अध्ययन अध्यापन गराउँदै आएको विश्वविद्यालयका शिक्षा अध्यक्ष भीम खतिवडाले बताउनुभयो ।
२०६८ देखि आयुर्वेदतर्फको स्नातहक तहको पठनपाठन गर्दै आएको विश्वविद्यालयका कुल सचिव माधव प्रसाद अधिकारीले बताउनुभयो । २०४३ सालमा दाङमा लामा सर्घषपछि विश्वविद्यालय स्थापना भएको थियो ।

भवन निर्माण भएको करिब पाँच वर्ष भए पनि औपचारिक उद्घाटन भएको थिएन । २०७० साल असार १७ गते टुन्नामुन्ना एण्ड आचार्य कन्स्ट्रक्सन जेभिसँग सम्झौता भई २४ करोड ७२ लाख ३ हजार ४६६ रुपैयाँ १० पैसाको लागतमा २०७४ असार मसान्तमा सम्पन्न गरेको थियो। भवन निर्माण कम्पनीले २०७४ मंसिर ३ गते आयुर्वेद अध्ययन संस्थानलाई हस्तान्तरण गरेको थियो ।

नेपाल सरकार, विश्वविद्यालय अनुदान आयोगमार्फत प्राप्त अनुदानबाट ३ तले १०८ कोठामा निर्माण भएको कार्यालयले जनाएको छ। भवनको तल्लो तलामा आयुर्वेद अस्पताल सञ्चालनको लागि व्यवस्था मिलाइएको पनि कार्यालयले जनाएको छ। भवनमा अहिले आयुर्वेद बीएएमएसको पठनपाठन भइरहेको छ, जसमा विभिन्न ब्याचका २१५ जना विद्यार्थी अध्ययनरत छन । यही भवनमा लुम्बिनी प्रदेश सरकारले कोरोना विशेष अस्पतालको रुपमा पनि सञ्चालनमा ल्याएको थियो । त्यसअघि आयुर्वेदमा स्नातक (बीएएमएस) अध्ययनरत विद्यार्थीले प्रयोगात्मक कक्षाका लागि ओपीडी पनि सञ्चालनमा थियो। तर, अहिले ओपीडी बन्द अवस्थामा छ।


