२०८० सालमा असोजमा तीज, कात्तिकमा दशैँ

काठमाडौं । मलमास अर्थात् अधिक वर्षका कारण आउँदो वर्ष २०८० सालका सबै चाडपर्व १५ दिनसम्म पछाडि धकेलिएका छन् ।

साउन महिनामा मलमास सुरु हुने भएकाले साउन कृष्णपक्ष पछाडिका सबै चाडपर्व १५ देखि १९ दिनसम्म पछाडि धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

यसअनुसार २०८० सालमा तीजको व्रत असोज १ गते परेको छ । जबकी यस वर्षको तीज भदौ १४ मा मनाइएको थियो । यसपालि असोज १० गते घटस्थापनापछि दशैँ सुरु भएकोमा २०८० सालको घटस्थापना भने असोज २८ गते परेको छ ।

यस्तै कात्तिक ४ गते फूलपाती, ५ गते महाष्टमी, ६ गते महानवमी, कात्तिक ७ गते विजयादशी र ११ गते कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार कात्तिक २७ गते लक्ष्मीपूजा र कात्तिक २९ गते भाइटीका परेको छ ।

यसपालि कात्तिक १३ मा मनाइएको छठ पर्व २०८० सालमा भने मंसिर ३ गते परेको छ । मलमासकै कारण २०८० सालको चैते दशैँ २०८१ मा पुगेको छ ।

२०८० को चैत मसान्तमै चतुर्थी तिथि सकिने भएकाले चैता अष्टमीमा मनाइने चैते दशैँ २०८१ को वैशाखमा परेको समितिले जनाएको छ । यसवर्ष २०७९ को चैते दशैँ भने आउँदो चैत १५ गते मनाइँदैछ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १ गते सोमवार
प्रतिक्रिया दिनुहोस