टरिगाउँ एयरपोर्टको डीपीआर तयार

तुलसीपुर । दाङको टरिगाउँ एयरपोर्टको डिपिआर तयार भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १२ स्थित टरिगाउँ एयरपोर्टको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले जानकारी दिइन् ।

चौधरीका अनुसार डीपीआर तयार भएको तर, त्यसमा विभिन्न चार विकल्प दिइएको छ । अहिले रहेको धावनमार्गबाट सिधै लैजाँदा एक हजार पाँच सय मिटरमात्रै धावनमार्ग हुनसक्ने भएकाले उत्तरतर्फ तन्काएर एक हजार सात सय मिटर बनाउन सकिने, स्थानीयवासीको जग्गा लिजमा लिएर विमानस्थल विस्तार गर्न सकिनेजस्ता विकल्प रहेको छ ।

डीपीआरमा दिइएका विकल्प माथि तुलसीपुरमा सरोकारवालासँग छलफल गर्ने तयारी रहेकोसमेत उपमेयर चौधरीले बताइन् ।

अहिले विमानस्थलको धावनमार्ग ७ सय ५० मिटरमात्रै लम्बाइ छ । त्यसमा १९ सिटेभन्दा ठूला जहाज बस्न सक्ने अवस्था छैन । त्यसैले यसलाई विस्तारका लागि तुलसीपुर उपमहानगरपालिकाले उपमेयर चौधरीको नेतृत्वमा समिति बनाएर दबाब दिइरहेको छ ।

अहिले नेपाल एअरलाइन्सको १९ सिटे ट्विनअटरले उडान भरिरहेको छ । आउँदो फागुन ३ गतेदेखि सीता एअरको जहाजले पनि उडान भर्ने तयारी गरेको छ । तर भाडा भने आठ हजार रुपैयाँ कायम रहनेछ ।

प्रकाशित मिति : २०७९ माघ २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस