बिजौरी । रोल्पा सुनछहारीका पर्सुराम रोका ७ महिनाको हुँदा वुवा सहिद भए । वुवा सहिद भएपछि टुहुरो भएका पर्सुरामलाई आमाले जसो–तसो गाउँमै कक्षा ८ सम्म पढाइन् । पर्सुरामलाई दाङको तुलसीपुर १७ बनकट्टामा रहेको सहिद स्मृति आवासीय माध्यमिक विद्यालयले द्वन्दपीडितका छोराछोरीलाई पढाउछ, भन्ने थाहा थिएन । तुलसीपुरमा रहेकी ‘अन्टी’ले विद्यालयको बारेमा थाहा पाएपछि उनी कक्षा ९ मा पढ्न आए । ‘मलाई यो विद्यालयका बारेमा थाहा थिएन, यहाँ बस्ने अन्टीले भनेपछि मात्रै थाहा भयो र यहाँ आएँ’, उने भने ‘मैले रोल्पाबाटै कक्षा ८ पास गरे पनि यहाँ अंग्रेजी माध्यम भएकाले पुनः ८ मा नै भर्ना भएर पढेँ ।’
यहाँ आएपछि वुवा, आमाको माया पाएजस्तो अनुभूति भएको उनले बताए । शिक्षकहरुलाई वुवा जस्तै, खाना पकाउने अन्टीलाई आमा, वुवा जस्तै र त्यहाँ पढ्ने विद्यार्थीहरुलाई दाजु भाइ जस्तै लाग्ने गरेको उनी बताउँछन् । ‘वुवा भनेको वुवा नै हो, वुवाको जस्तो माया त कहाँ पाइन्छ होला र ?’,उनले भने ‘तर, यहाँ पाएपछि वुवाआमाको माया पाएजस्तै भएको छ, दाजु भाइसँग भेट भएको महसुस भएको छ ।’
यहाँ सबै सहिद, बेपत्ता,घाइतेहरुका छोराछोरी भेट्दा मनका कुरा हुन्छन्, खुसी लाग्ने गरेको उनले बताए । उनी अहिले त्यो विद्यालयमा कक्षा १२ मा ब्यवस्थापन संकायमा अध्ययनरत छन् ।
त्यस्तै सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत अञ्जना दहितले पनि विद्यालयमा विभिन्न १६ जिल्लाका द्वन्दपीडित अध्ययनरत विद्यार्थीहरुबीच भावना साटासाट हुने गरेको बताइन् । ‘पढाइ त छदैछ, यो विद्यालय हाम्रो भावना साट्ने थलो बनेको छ’, उनले भनिन् ‘सबैका मनका कुरा सुन्दा खुसी लाग्छ ।’ कोही सहिद परिवारका छन्, कोही वेपत्ता त, कोही अपाङ्ग, घाइते परिवारका छन् । उनीहरु, हामीहरुबीच कुरा हुँदा मन हल्का हुन्छ । भावना साटासाट हुन्छ, यसले हामीलाई सुखद अनुभूति गराउँछ ।
अञ्जना विज्ञान विषय पढिरहेकी छिन् । उनका वुवा ३/४ बर्ष जनयुद्धका क्रममा जेल जीवन बिताएका थिए । उनीहरु जस्तै अहिले विद्यालयमा ४ सय १८ द्वन्दपीडित आवासीय विद्यार्थीहरु अध्ययनरत छन् ।
उच्च शिक्षा पढ्ने वातावरण बनाइयोस्
द्वन्दपीडित परिवारका विद्यार्थीहरुले उच्च शिक्षा पढ्ने वातावरण मिलाउनु पर्ने बताएका छन् । सरकारले कक्षा १२ सम्म पढ्ने निःशुल्क पठनपाठनको ब्यवस्था गरेको भए पनि त्यो भन्दा माथिल्लो शिक्षा पढ्न नपाउँदा धेरै द्वन्दपीडित विद्यार्थीहरु पढाइ छोड्ने गरेको भन्दै त्यो भन्दा माथिल्लो शिक्षा पनि निःशुल्क गराउनु पर्ने विद्यार्थीहरुको माग छ । ‘सरकारले १२ सम्म निःशुल्क पठनपाठनको ब्यवस्था त गरेको छ’, विद्यार्थी पर्सुराम पुनले भने ‘त्यतिले मात्रै हुँदैन, हाम्रा अभिभावक हुनुहुदैन्, हामीलाई माथिल्लो शिक्षा कस्ले दिन्छ, त्यसैले हामीलाई निःशुल्क शिक्षाको ब्यवस्थापन गर्नुपर्छ ।’
साथै उनले अभिभावक भनेको पार्टी पनि रहेको भन्दै पार्टी विभाजनले आफूहरु जस्ता सहिद परिवारहरुलाई दुःखी बनाएको बताए । माओवादी टुटफुट हुँदा सहिदका सपनाहरु अझै पूरा हुन नसकेको उनको भनाइ छ ।
पूर्वाधारमा अपुग
विद्यालयमा पूर्वाधार अपुग हुँदा एउटै कोठामा १६/१७ जना विद्यार्थीहरु राख्नु पर्ने बाध्यता रहेको विद्यालयका प्रधानाध्यापक धनेश्वर पोख्रलले बताए । उनका अनुसार आवासका लागि १४/१४ कोठा भएका दुई वटा भवन छन् । त्यतिले मात्रै नपुग्ने उनको भनाइ छ । ‘हामीसँग आवासका लागि भवनको अभाव हुँदा एउटै कोठामा १६÷१७ जना विद्यार्थीहरु राख्नु पर्ने अवस्था छ’, उनले भने ‘यसले निकै समस्या बनाउने गरेको छ ।’
त्यस्तै विद्यालयतर्फ १२ कोठे तीन तले भवन, तीन तले ९ कोठे भवन, ४ कोठे दुई तले भवन रहेका छन् । साथै ४ काठे २ तले भवन निर्माणको अन्तिम चरणमा छ । त्यस्तै ४ कोठाको दुई तले भवनका लागि प्रदेशले बजेट छुट्याएको भएपनि अहिले निर्माणाधीन अवस्थामा छ । विद्यार्थीहरुको शैक्षिक तथा आवासीय खर्च सरकारले ब्यहोर्दै आएको छ ।
प्राबिधिक शिक्षा पनि सुरु
विद्यालयमा शैक्षिक सत्र २०७७ देखि सिटिईभिटि अन्तर्गत ३ बर्षे सिभिल इन्जिनियरिङ पनि पढाइ भइरहेको छ ।
साथै चालुवर्षको बजेट भाषणमा विद्यालयलाई सार्वजनिक प्राविधिक शिक्षालयको रुपमा ब्यवस्थापन गर्ने कुरा उल्लेख भए पनि कार्यान्वयन नहुनु दुःखद रहेको प्रधानाध्यापक धनेश्वर पोख्रेलले बताए । हाल आवासीयमा ४१८ विद्यार्थी र स्थानीय २५६ गरि जम्मा ६७४ विद्यार्थी अध्ययनत छ । १० प्रतिशत स्थानीय विद्यार्थीलाई समेट्नु पर्ने ब्यवस्था छ ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हेमराज शर्मा (डायमण्ड)को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती, संविधानसभा सदस्य दामा शर्मा लगायतकाले बोलेका थिए । –साक्षी खबरबाट