फागुनमा कोरोनाविरुद्धको बुस्टर खोप ल्याइने

काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) को खोप फागुन पहिलो हप्तामा नेपाल आउने बताएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले आउँदो फागुन ८ गतेभित्रमा खोप नेपाल आउने बताए ।

उनले कार्यतालिका अनुसार फागुन १ गतेदेखि ४ गतेभित्र ‘भ्याक्सिन र खोपको लागि ग्लोबल एलायन्स’ ‘गाभी’ ले पठाउने भने पनि प्राविधिक कारणले नेपाललाई अझै खोप आउनेबारे जानकारी नदिएकाले ढिलाइ भएको बताए ।

छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि सरकारले ‘गाभी’ सँग ३० लाखा मात्रा खोप माग गरेको हो ।

पहिलो चरणमा १५ लाख मात्रा खोप आउने उनले बताए । गाभीले कोभ्याक्स सुविधामार्फत् नेपाललाई बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप उपलब्ध गराउन थालेको हो ।

मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७९ माघ २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस