सरकारबाट बाहिरिने रास्वपाको निर्णय

काठमाडौं । गृह मन्त्रालय नपाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने, तर समर्थन कायमै राख्ने निर्णय गरेको हो । बैठकपछि सभापति रवि लामिछानेले पनि डेलिभरी गर्ने मन्त्रालय नपाएपछि सरकार छाड्ने निर्णय गरेको बताए ।

‘सरकारमा जाने म्याण्डेट पाएका थिएनौं । तर गृह, श्रम तथा रोजगार जस्ता काम गर्ने मन्त्रालय पाएपछि गएका हौं’, उनले भने । रास्वपाबाट लामिछाने उपप्रधानमन्त्री तथा गृह, डीपी अर्याल श्रम, शिखिर खनाल शिक्षामन्त्री भएका थिए भने डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएकी थिइन् ।

तर नागरिकता विवादमा सर्वोच्च अदालतले १३ माघमा सांसद पद खारेज गरेसँगै रवि उपप्रधानमन्त्री तथा गृहमन्त्री पदबाट पदमुक्त भए ।

पार्टीका अरु सांसदलाई गृह मन्त्री बनाउन प्रधानमन्त्री प्रचण्ड तयार नभएको पनि लामिछानेले बताए ।

डेलिभरी गर्ने गृह मन्त्रालय नपाउने भएपछि पार्टीले सरकार छाड्ने निर्णय गरेको रविले सुनाए ।

प्रकाशित मिति : २०७९ माघ २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस