टरिगाउँ एयरपोर्टमा सिता एयरको परीक्षण उडान(भिडियोसहित)

तुलसीपुर।  दाङको टरिगाउँ एयरपोर्टमा सिता एयरले शुक्रबार दिउँसो परीक्षण उडान गर्ने भनेपछि एयरपोर्टमा तुलसीपुर उपमहानगरका जनप्रतिनिधि, तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारी तथा विभिन्न सरोकारवालाहरू हातमा खाँदा र माला लिएर स्वागतका लागि उभिएका थिए । दिउँसो एक बजेर १८ मिनेटमा नाइन एन– एजेएच  कल साइनको सिता एयरको जहाज एयरपोर्टमा अवतरण भएको थियो । दाङबाट काठमाडौँ नेपाल एयरलाइन्सले पनि सेवा दिँदै आएको छ । तर, त्यो सेवा हप्ताको केही दिन मात्र रहेको छ।

दाङ काठमाडौँ नेपाल एयरलाइन्सले हवाइ सेवा दिँदै आएको भएयता पनि नियमित  र हवाई भाडा महँगो हुँदा यहाँका नागरिकहरूले सेवा लिन नेपालगन्ज वा भैरहवा जानु पर्ने बाध्यता रहेको छ ।

शुक्रबार निजी हवाई कम्पनी सिता एयरले परिक्षण उडान गरेपछि यो सेवा नियमित हुने र हवाइ भाडामा पनि कमी भएपछि यात्रा गर्न सहज हुने स्थानीय डिल्ली बहादुर रावतले बताए।

त्यस्तै दाङमा हवाइ सेवा नियमित नहुँदा दाङवासीहरू भैरहवा र नेपालगञ्जबाट गइरहेको अवस्थामा सिता एयरले दाङबाट सेवा दिन तयार भएपछि सबैलाई सहज हुने अर्का स्थानीय एकराज आचार्यले बताए ।
 
तुलसीपुरमा रहेको एयरपोर्टको स्तरोन्नति र  नियमित उडानको लागि तुलसीपुर उद्योग वाणिज्य संघले लामो समयदेखि निरन्तर रुपमा लागि परेको र यदि सिता एयरले नियमित उडान गरेमा यात्रुहरू नपाएको खण्डमा आफूहरूले भाडा बेहोर्ने समेत वाणिज्य संघका पूर्वअध्यक्ष विमल रिजालले बताए । 

तुलसीपुर उपमहानगरले पनि यात्रुहरू खोज्ने काम गर्ने र दाङ आउँदा बाहिरको भूमिबाट आउनु पर्ने बाध्यता अन्त्य गर्नको लागि सहयोग गर्ने तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले बताए।

काठमाडौँदेखि दाङ आउनको लागि जम्मा ४५ मिनेट समय लाग्छ । सानो एयरपोर्ट हुँदा जुम्ला, हुम्लामा ल्यान्ड गरेको महसुस भएको र अहिले धान मार्ग करिब २ सय मिटर बढाउन सकेमा विमानले आफ्नो  क्षमता अनुसारको सेवा दिने पाइलट रविन्द्र डङ्गोलले बताए।

शुक्रबार परीक्षण उडान भरेको सिता एयरले पहिलो चरणमा हप्तामा एक पटक दाङ काठमाडौँ उडान भर्ने र परीक्षणपछि प्राविधिक समस्या, यात्रु लगायतका विषयमा बोर्डमा छलफल गरेर १० दिनपछि नियमित उडान भर्ने सिता एयरका प्रबन्ध निर्देशक राजेन्द्र बहादुर सिंहले बताए । 

हाल दाङदेखि काठमाडौंको न्यूनतम ८ हजार ८१० रुपैयाँ र काठमाडौंदेखि दाङको भाडा न्यूनतम ९ हजार बढीदेखि अधिकतम १२ हजार भन्दा बढि रहेको छ । ७५० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग छ ।

प्रकाशित मिति : २०७९ माघ १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस