
विजौरी । यहाँ निर्माणाधिन चारलेन सडकका आधिकारिक निर्माण कम्पनी भारतको मुम्बै स्थित तथ्य इन्जिनियरीङ एण्ड इन्फ्रा प्रोजेक्ट प्रालिले यस अघिका स्थानीय प्रतिनिधि श्रेष्ठ कन्स्ट्रक्शन प्रालिका प्रोपाइटर रोशन श्रेष्ठलाई स्थानीय प्रतिनिधिबाट हटाएको छ । दुई साता अघि यो सडकलाई हेर्ने काठमाडौं स्थित रोड इम्प्रुभ्मेन्ट प्रोजेक्टको कार्यालयमा पत्र पठाएर नयाँ प्रतिनिधिका रुपमा रुपन्देहीका व्यवसायी सुनील जंघ रायमाझीलाई नियुक्त गरेको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका लुम्बिनी संयोजक बलिभद्र रानाको सहजीकरणमा नयाँ प्रतिनिधि नियुक्त गरिएको बताइएको छ । यससँगै तथ्य इन्जिनियरीङले स्थानीय प्रतिनिधि फेरेको छैठौं पटक हो । पटक पटक म्याद थप र पटक पटक प्रतिनिधि फेरिंदै गर्दा चारलेन सडक बन्ने वा बीचमै तुहिने भन्नेमा स्थानीय नागरिकहरुमा अन्योल छाएको छ । अहिले नियुक्त निर्माण व्यवसायी भैरहवा विमानस्थल निर्माण गर्ने निर्माण कम्पनीका सञ्चालक भएको बताइएको छ । नयाँ प्रतिनिधि नियुक्त भएपछि पुराना प्रतिनिधि श्रेष्ठले आफ्ना निर्माण सामाग्रीहरु हटाइसकेका छन् । नयाँ प्रतिनिधिको टिमले घोराहीको नवलपुरमा कार्यालय सञ्चालनमा ल्याएर यसअघि भएका कामको आर्थिक तथा भौतिक प्रगतिको स्थलगत अनुगमन गरी तथ्य संकलनको काम सुरु गरिरहेको निर्माण सहजकर्ता तथा लुम्बिनी प्रदेश निर्माण व्यवसायी संघका अध्यक्ष बलिभद्र रानाले बताएका छन् । ‘हामी काम गर्न तयार छौं, असार मसान्तसम्म करीव करीव आधाआधि काम हामीले सम्पन्न गर्ने गरी तयारी गरेका छौं’, निर्माण कम्पनीका आधिकारिक प्रतिनिधि सुनिल रायमाझीले भने । यो विषयमा सडक विभागका निर्देशक, भौतिक पूर्वाधार मन्त्रालय तथा रोड इम्प्रुभमेन्ट प्रोजेक्टमा छलफल भैरहेको पनि निर्माण व्यवसायी रायमाझीले भने ।
यसअघि जिल्ला समन्वय समितिको समन्वयमा बसेको बैठकमा चारलेन परियोजनाको निर्माण कम्पनीले पनि आफ्ना स्रोत साधन लगाएर खाडल पुरे पनि अविरल वर्षातका कारण एक महिना पनि टिक्न सकेन । त्यो बेला पनि घोराही र तुलसीपुर उपमहानगरपालिकाले आआफ्नो पायक पर्ने क्षेत्रबाट नदीजन्य पदार्थ उठाउन अनुमति दिएका थिए ।
निर्माण कम्पनीले समयमा काम नगरी सडक भत्काएर अलपत्र पारिदिँदा कम्तिमा ७ मिटर कालोपत्रे सडक पनि अहिले रहन सकेन । दुवै किनाराबाट फाट्दै अहिले मुस्किलले ३ मिटरमा खुम्चिएको छ । झरीमा पानी ओत लाग्ने सडक किनाराका प्रतीक्षालयहरू भत्काइएका छन् । गर्मीमा बस कुर्दा शीतल लिने रूखहरू काटिएका छन् ।
१ करोड २१ लाख अमेरिकी डलरमा यो सडक ठेक्का भएको हो । भारत सरकारको अनुदानको यो सडकमा भारतै एक्जीम बैंकले लगानी गर्दै छ । त्यहि अनुरुप निर्माणको ठेक्का पनि भारतीय कम्पनीलाईनै दिइएको थियो । २८ दशमलव १९ किलोमिटर सडकको स्तरोन्नति गर्नका लागि नेपाल सरकार सडक विभाग माताहतको रोड इम्प्रुभमेन्ट प्रोजेक्ट मातहतमा काम हुने गरी घोराहीको कुइरेपानीदेखि तुलसीपुरको हात्तीखौवासम्म कतै चारलेन त कतै दुईलेन बनाउने गरी निर्माण सम्झौता भएको चार वर्ष नाघिसकेको छ । सुरुमा ३३ महिनामा काम सक्ने गरी परियोजनासँग निर्माण सम्झौता भएको होे । सुरुको सम्झौता भएको सन् २०१९ जनवरी २८ मा तर तीन पटक म्याद थप गर्दा पनि अहिलेसम्म सडक स्तरोन्नतिको कामको भौतिक प्रगति जम्मा ९ प्रतिशत मात्रै छ ।
तथ्यले सुरुमा यहीँकै अनुप पाण्डे, जनक डाँगी र जविन रानालाई आधिकारिक प्रतिनिधिका रूपमा खटाएको थियो । उनीहरूबाट काम हुन नसकेपछि तथ्य इन्जिनियरिङकै प्रबन्ध निर्देशक प्रविण ब्रह्मदेव पाण्डे दाङमै आएर भिङ्ग्रेली होटलको दक्षिणतर्फको चौरमा त्रिपाल टाँगी मञ्च बनाएरै त्यहीँबाट यी तीनै जनालाई हटाएर नयाँ प्रतिनिधि एकेन्द्र खड्कालाई नियुक्त गरेको पत्र परियोजना कार्यालयमा तथ्यले पठायो । एकेन्द्रबाट पनि काम शून्य प्रायः भएपछि विजय पाठकलाई नियुक्त गरेको उद्घोष गरे । विजय पाठक प्रतिनिधि भइरहेका बेला नेपाल सरकार परियोजना कार्यालयले ठेक्का रद्दको सूचना निकालेपछि तथ्य इञ्जिनियरिङले श्रेष्ठ कन्स्ट्रक्शनका सञ्चालक रोशन श्रेष्ठलाई प्रतिनिधिक रूपमा नियुक्त गरेको जानकारी दियो । अहिले नयाँ प्रतिनिधि आइरहँदा यहाँका स्थानीयबासीहरुमा फेरी के हुने भन्नेमा आशा र निराशा दुवै देखिएको छ ।
तुलसीपुरका युवाहरुले पुरे खाडलहरु
यसैबीच सडक स्तरोन्नति गर्नुको साटो जताततै भताभुङ्ग र लथालिङ्ग पारेपछि बाध्य भएर तुलसीपुरमा क्रियाशील युवा व्यवसायीहरूले उपमहानगरपालिका क्षेत्रभित्रको सडक मर्मतको काम सोमबार साँझ सम्पन्न गरेका छन् । करीव पाँच दिनको समय लगाएर ती युवाहरुले सडक किनारा र बीच सडकका खाडलहरु पुरेका हुन् । ती युवाहरूले तुलसीपुर उपमहानगरपालिका सँगको समन्वयमा आफ्नै लगानीमा सडक किनारा एवम् बीच–बीचमा परेका खाडलहरू पुर्न थालेका हुन् ।
तुलसीपुर–घोराही खाडल मर्मत अभियान नाम दिएर त्यस क्षेत्रमा क्रियाशील युवा व्यवसायीहरूले पवनकुमार योगीको नेतृत्वमा यो अभियान थालेका हुन् । काम थाल्नु अघि युवाहरूले तुलसीपुर उपमहानगरपालिकामा निवेदन दिएर ती खाडलहरू पुर्नका लागि पायक पर्ने खोलाहरूबाट ग्राभेल निकाल्न अनुमति मागेका थिए । खाडलहरू पुर्नका लागि उपमहानगरपालिकाले प्रारम्भिक वातावरणीय मूल्याङ्कन भइसकेका स्थानहरूबाट ग्राभेल निकाल्न अनुमति दिएपछि खाडल पुर्ने काम सुरु भएको युवा अभियानका अभियन्ता पवनकुमार योगीले बताएका छन् । यस क्षेत्रका कम्तिमा डेढ दर्जन बढी व्यवसायीले ५ थान टिप्पर, १ थान रोलर र २ वटा भ्याकुहोलोडर प्रयोग गरेर खाडल पुरिरहेका छन् ।
‘दैनिक यात्रा निकै कष्टकर भएकाले सामाजिक अभियान अन्तर्गत् यो काम थालेका हौँ, सडक पूरै स्तरोन्नति नभएपछि यो मर्मतले केही महिनाका लागि यातायात सेवा केही सहज हुनेछ र दुर्घटना न्यूनीकरणमा पनि हाम्रो अभियानले सहयोग पु¥याउने छ’, अर्का युवा अभियन्ता विनिल केसीले भने । उनीहरूले ग्राभेल बाहेकका सबै काम आफैले आर्थिक व्यवस्थापन गरेर गरिरहेको बताएका छन् । सडकका खाडलहरु पुरिएपछि अहिले तुलसीपुर क्षेत्रको यातायात सेवा निकै सहज भएको यातायात व्यवसायी प्रकाश भट्टले बताएका छन् । चारलेनको काम लथालिंग भैरहँदा अब घोराही क्षेत्रमा पनि उपमहानगरपालिकाले खाडल पुर्नका लागि केहि पहल गर्नुपर्ने पनि यस क्षेत्रका नागरिकहरुको छ ।
साक्षी खबरवाट साभार