तुलसीपुर । तुलसीपुरमा जग्गाको कित्ताकाट खुल्ला भएको छ । नयाँ भु-उपयोग नियमावली २०७९ अनुसार वडाले जग्गाको वर्गीकरण गरेपछि नगरका १५ वटा वडामा जग्गाको कित्ताकाट खुल्ला भएको हो ।
तुलसीपुर उपमहानगरपालिकाका चार वटा वडाबाहेक अन्य वडामा जग्गाको कित्ताकाट बिहिबार(भोलि)देखि शुरु हुने मालपोत कार्यालय तुलसीपुरका प्रमुख कणर्बहादुर नेपालीले जानकारी दिए ।
उनका अनुसार नगरका वडा नम्बर ३, १०, १२ र १४ बाहेक अन्य वडामा जग्गाको कित्ताकाट भोलिदेखि हुने भएको हो । नगरका १५ वटा वडाले जग्गाको वर्गीकरण गरेर पठाएपछि गत मंसिर २३ गतेदेखि रोकिएको कित्ताकाट भोलिदेखि शुरु हुने प्रमुख नेपालीले बताए ।
उहाले बाँकी चार वटा वडामा पनि करिब एक साताभित्र कित्ताकाट शुरु गर्न सकिने बताउनुभयो । भु-उपयोग नियमावली २०७९ अनुसार जग्गाको वर्गिकरण कृषि, आवास लगायत १० वटा क्षेत्रमा वर्गिकरण गर्नुपर्ने भएपनि तुलसीपुरमा अहिले तत्काल पहिलो चरणमा कृषि र गैह्रकृषि छुट्याएर कित्ताकाट खुल्ला गरिएको छ ।



