धरानमा हर्क साम्पाङले चलाए डोजर

धरान । सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन धरान उपमहानगरपालिकाले पनि डोजर चलाएको छ ।

आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको छ ।

डोजर चलाउने क्रममा सुरक्षाकर्मी र स्थानीय बासिन्दा बीच झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेको छ भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।

धरान ५ मा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी घर निर्माण गरेको भन्दै धरान उपमहानगरपालिकाले आइतबार बिहान मुना चौधरी लिम्बूले बनाएको घर भत्काएको हो ।

धरान–५ को खारखोला र अधेरी खोलाको संगमस्थलमा बहुजातीय रंगशाला बनाउने धरान उपमहानगरले निर्णय गरेको थियो । उक्त क्षेत्रमा एकतले पक्की घर निर्माण गरिएपछि ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी अतिक्रमित जग्गा खाली गराइएको नगरप्रमुख हर्क साम्पाङले बताए ।

उपमहानगरले घर निर्माण नगर्न पटकपटक पत्राचार समेत गर्दा अटेर गरी घर निर्माण गरेको आरोप लगाएको छ ।

खोला किनार र सार्वजनिक जग्गामा नयाँ घर निर्माण गर्ने कार्यलाई निरुत्साहित गर्न उपमहानगरले अभियान चलाएको छ भने पुराना निर्माण भएका संरचनालाई व्यवस्थित गर्ने नीति लिएको छ ।

प्रकाशित मिति : २०७९ माघ ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस