काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगको पछिल्ला समस्या अवगत गराएको छ । विहीबार नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिहरुसँगको भेटमा मन्त्री पाण्डेले क्रसर उद्योगको समस्या चाँडै समाधान हुने बताएका हुन् ।
सहरी विकास मन्त्री विक्रम पाण्डेले क्रसर उद्योगमा देखिएको समस्याबारे आफू जानकार रहेको बताउँदै यस उद्योगमा देखिएको समस्या समाधान गर्ने विषयमा मन्त्रिपरिषदमा सकारात्मक छलफल भएको जानकारी दिएका छन् ।
गैरकानुनी तरिकाले क्रसर सञ्चालन गर्ने केही व्यक्तिका कारण नियम संगत तरिकाले उद्योग सञ्चालन गर्ने समेत मारमा परेको मन्त्री पाण्डेले बताए ।
निर्माण व्यवसायीहरूलाई कुनै गल्ती नगरी निर्भिक भएर काम गर्ने वातावरण बनाउने प्रतिबद्धता पनि मन्त्री पाण्डेले व्यक्त गरे । महासंघका अध्यक्ष रवि सिंहले क्रसर उद्योग सञ्चालनमा देखिएको अवरोधका कारण निर्माण कार्य प्राय ठप्प भएको जानकारी गराए ।
निर्माण उद्योगबारे जानकार व्यक्तिले सहरी विकास मन्त्रालय सम्हाल्दा आफूहरूलाई खुशी लागेको अध्यक्ष सिंहले बताए । पर्याप्त बजेट नछुट्याई ठेक्का लगाउँदा निर्माण उद्योगमा धेरै समस्या देखिएको भन्दै अध्यक्ष सिंहले बजेट छुट्टयाएर मात्र ठेक्का लगाउन मन्त्री पाण्डेको ध्यानाकर्षण गराए ।
महासंघ प्रतिनिधिहरुमा वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी),महासचिव रोशन दाहाल, महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐर र उपनिर्देशक आसित अधिकारी सहभागी थिए ।


