पोखरा । यती एयरलाइन्सको विमान दुर्घटनापछि उद्धारकार्य जारी छ । दुर्घटनामा अहिलेसम्म २१ जनाको शव फेला परेको छ ।
कास्कीका प्रमुख जिल्ला अधिकारी टेकप्रसाद अधिकारीले २१ जनालाई मृत फेला पारिएको जानकारी दिए । उनले जीवित यात्री भेट्टाउने सम्भावना कम रहेको पनि बताए ।
आइतबार बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको विमान अवतरणका क्रममा पोखरा विमानस्थलनजिक दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा चालक दलका चार सदस्य र ६८ यात्रीसहित ७२ जना सवार थिए । त्यसमध्ये १० जना विदेशी नागरिक थिए ।
जहाज सेतीको खोँचमा खसेको हो । उद्धारकार्य जारी रहेको गण्डकी प्रहरी प्रदेश प्रमुख रामदत्त जोशीले बताए ।
प्रकाशित मिति : २०७९ माघ १ गते आइतवार


