
काठमाडौँ । मधेस प्रदेशबाहेक अन्य ६ वटा प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु भएको छ ।
सात वटै प्रदेशमा कुनै पनि दलको एकल बहुमत छैन । प्रदेश एक, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखले सरकार गठनको आह्वान गरिसकेका छन् । कुनै पनि दलको बहुमत नहुँदा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम दुई वा त्यो भन्दा धेरै दलको समर्थनमा प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी छ । उनले विश्वासको मत लिएपछि मात्रै प्रदेशमा सत्ता साझेदार दलहरूबीच सहमति कायम गरेर मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने तयारी गरेका थिए तर तीन वटा प्रदेश प्रमुखले त्यसअघि नै प्रदेशमा मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।
प्रदेश एकमा यसअघि नै पुस २४ गते ५ बजेभित्र मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गरिएको छ । त्यस्तै, बाग्मती र गण्डकी प्रदेशमा पुस २५ गते ४ बजेभित्र दाबी पेस गर्न भनिएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका प्रमुखले पुस २७ गते बुधवार ४ बजेभित्र मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।
मधेस प्रदेशमा पनि एक–दुई दिनमै सरकार गठनको आह्वान गर्ने तयारी छ । संविधानले प्रदेश सभा चुनावको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र दुई वा दुईभन्दा बढी दलको समर्थन पाएका प्रदेश सभा सदस्य मुख्यमन्त्री नियुक्त हुने व्यवस्था गरेको छ । ७ वटै प्रदेशमा पुसभित्रै नयाँ सरकार गठन हुने देखिएको छ ।