पाल्पाको खुर्सानेमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १८ घाइते

पाल्पा। पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा ८ खुर्सानेमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।

रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेका लागि छुटेको ग १ ख ४९७७ नम्बरको यात्रुवाहक बस गएराती करिब १० बजेतिर दुर्घटना भएको स्थानीयले जनाएका छन् ।

बस दुर्घटना हुँदा खुर्साने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको मृत्यु भएको वडा नम्बर ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । मृतक एक जनाको पहिचान भएको छैन ।

बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले बताए । दुर्घटनाका घाईते १८ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७९ पुष २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस