काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम मूल्य समायोजन गरी मूल्य घटाउन प्रधानमन्त्री प्रचण्डले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री प्रचण्डले आमजनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य कटौती गर्न निर्देशन दिएका हुन् ।
निगमको पछिल्लो विवरणअनुसार १५ दिनमा ९९ करोड रुपैयाँ नाफा हुने देखिएको छ ।
निगमले १८ अर्ब रुपैयाँ बराबरको रकम तिर्नुपर्ने दायित्व रहेको भन्दै मूल्य घटाउन तयार भएको छैन । चौतर्फीरूपमा मूल्य घटाउन निगमलाई दबाब परे पनि अस्वीकार गर्दै आएको छ । लगातार अन्तर्राष्ट्रिय बजारमा मूल्य ओरालो लागे पनि दायित्व बाँकी रहेको भन्दै मूल्य घटाउन निगम तयार नभएपछि प्रधानमन्त्रीले नै निर्देशन दिनुपरेको हो ।


