भालुवाङ । लुम्बिनी प्रदेश सभाको पहिलो बैठकले लुम्बिनी प्रदेश सभा नियमावली २०७९ पारित गरेको छ । ज्येष्ठ सदस्य डिल्लीराज भुसालले ‘लुम्बिनी प्रदेश सभा नियमावली, २०७९’पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावमा सदनले पारित गरेको हो ।
पारित नियमावलीको आधारमा प्रदेश सभाले आफ्ना गतिविधि अघि बढाउने छ। यसअघि प्रदेश नम्बर ५ नियमावली २०७४ थियो । तर, त्यो नियमावली ५० प्रतिशतभन्दा बढी संशोधन गर्नुपर्ने भएपछि नयाँ नियमावली बनाइएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।
त्यस्तै लुम्बिनी प्रदेश सभाको तेस्रो बैठक माघ ३ गते बस्ने भएको छ। पहिलो अधिवेशनको दोस्रो बैठक सकिएपछि तेस्रो बैठक माघ ३ गते बस्ने जेष्ठ सदस्य भुसालले बताए । साथै अब सभामुख र उपसभामुख चयनको लागि प्रदेश सभामा बाटो खुलेको छ।
पहिलो बैठक बसेको मितिले १५ दिनभित्र सभामुख र उपसभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ। सोहीअन्तर्गत राजनीतिक दलबीच सहमतिको प्रयास गरिने र सम्भवतः आगामी बैठकले सभामुख चयन गर्ने प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए।


