मा.वि. कालाखोलामा ‘सुनाखरी तुलसीपुर सिकाइ मेला’

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित मावि कालाखोलामा ‘सुनाखरी तुलसीपुर सिकाइ मेला २०७९’ सम्पन्न भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाभित्रका विभिन्न ८ वटा विद्यालय र तुलसीपुर उपमहानगरपालिकाको कार्यालयको संयुक्त आयोजना तथा टिचफर नेपालको प्राविधिक सहयोगमा एक दिने सुनाखरी तुलसीपुर सिकाइ मेला मावी कालाखोलामा भएको हो ।

‘प्रर्दशनी र अन्तरक्रियामा आधारित शिक्षा, समूह कार्य र अनुभव आदानप्रदान सबैको इच्छा’ भन्ने मुल नाराका सुरु भएको सिकाइ मेलाको उद्धघाटन शिक्षाविद् डा. विद्यानाथ कोइरालाले गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले नेतृत्व परिवर्तन गर्नका लागि विद्यार्थीहरुलाई मार्सवादी बनाउनुपर्ने तर्क गरे । ‘विद्यार्थीहरुलाई सृजनशील बनाउन ठुलो काम गर्नुपर्दैन, जस्तो छ त्यसलाई भिन्दै तरिकाले सोचे मात्र पनि पुग्छ, उनले भने । उनले मेलाले विद्यार्थीलाई आधुनिक ज्ञानसँग जोडेर गुणयुक्त बनाउन मद्धत गर्ने पनि बताए ।

कार्यक्रममा बरिष्ठ कलाकार सुनिल थापाले विद्यार्थीहरुले मनबाट पढेमा मात्र सफल हुने बताए । मावि कालाखोला विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले तुलसीपुरलाई शिक्षाको ज्ञान केन्द्रका रुपमा बिकास गर्ने बताए । त्यस्तै उपप्रमुख स्यानी चौधरीले पढाइलाई गुणस्तरसँग जोडेर लैजाने तर्क गरिन् ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका सामाजिक विकास समितिका संयोजक मानबहादुर रावत, मावी कालाखोला बिद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष जोगेन्द्र विश्वकर्मा, तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का अध्यक्ष रामबहादुर जिसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिकाका शिक्षाशाखा प्रमुख चक्र भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यार्थी संगीत डिसी र प्रमिला वलीले गरेका थिए ।

४१ स्टलमा विभिन्न प्रर्दशनी
८ वटा विद्यालयको संयुक्त आयोजनामा सञ्चालित सुनाखरी तुलसीपुर सिकाइ मेलामा विद्यार्थीहरुले निर्माण गरेका वस्तु प्रदर्शन गरिएको थियो । ४१ वटा स्टलमा विभिन्न विद्यालयका विद्यार्थीले तयार पारेका ३१ वटा प्रदर्शनी, फुड स्टल १, ब्यापारिक स्टल २, खेल स्टल ३, कलेज स्टल २ हेल्थ डेक्सक २ स्टल राखिएको थियो । प्रदर्शनी हेर्न पुगेका विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, शिक्षक, विभिन्न पेशाकर्मीले चासोका साथ जानकारी लिएका थिए । सुनाखरी तुलसीपुर सिकाइ मेलाबाट बालबालिकाहरुले सिकाइ आदानप्रदान गरेको सञ्चार उपसमितिका संयोजक लक्ष्मी न्यौपानेले जानकारी दिइन् ।

सिकाइ मेलामा कम्तीमा ५ हजार विद्यार्थीहरुलाई अवलोकन गराउने लक्ष्य लिइएको थियो तर मेलामा लक्ष्य भन्दा धेरै विद्यार्थीहरुले अवलोकन गरेका छन । संयोजक लक्ष्मी न्यौपानेका अनुसार सिकाइ मेलामा करिब ७ हजार बढी विद्यार्थीहरुले अवलोकन गरेका छन ।

मेलाले दिगो विकासको लक्ष्य प्राप्त गर्न मद्दत पुर्याउने, सिक्ने र सिकाउने प्रयोगात्मक विधिलाई सवलीकरण गर्ने, विद्यार्थी, शिक्षक र शैक्षिक अभियन्ताबीच बलियो सञ्जाल निर्माण गर्ने अवसर प्रदान गर्न, शिक्षक र विद्यार्थीलाई सिक्ने सिकाउने अवसर खुलारुपमा प्रदान गर्न र नेतृत्व विकास गर्न सक्ने सीपको विकास भएको मूल आयोजक समितिले जनाएको छ । टिच फर नेपालसँग सहकार्य गरेका तुलसीपुर उपमहानगरपालिका भित्रका सरस्वती माबि दमारगाउँ, अम्बेश्वरी माबि अम्बापुर, माबि प्रतापकोट, माबि भित्रीसक्राम, नवजागरण माबि कुटेचौर, माबि बालापुर र जनज्योती माबि तुहिरनियापुर संयुक्त आयोजनामा सिकाइ मेला भएको हो ।

उक्त मेलामा तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालयका शिक्षक,विद्यार्थी र अभिभावकहरुको सहभागिता रहेको थियो । तुलसीपुरले २०७५ सालदेखि टिचफर नेपालको सहकार्यमा विभिन्न विद्यालयहरुमा सिकाइ मेला आयोजना गर्दै आएको छ । एक दिने सिकाइ मेलाको मुख्य प्रायोजकमा राष्ट्रिय बाणिज्य बैंक रहेको थियो भने सह–प्रायोजकमा तुलसीपुर मेट्रो कलेज रहेको थियो ।

प्रकाशित मिति : २०७९ पुष १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस