काठमाडौं । प्रत्येक वर्ष चन्द्रमासअनुसार पौष कृष्ण औंसीका दिन गरिने दर्शन एवं तीर्थ वा गया श्राद्ध आज विधिपूर्वक गरिँदैछ ।
दक्षिणायनको अन्तिम औंसीमा आज पितृलाई श्रद्धापूर्वक तर्पण, सिदादान र पिण्डदान गरी श्राद्ध गरिँदैछ । पितृलाई कृष्णपक्ष प्यारो हुने भएकाले पक्षको अन्तिम दिन अर्थात् औंसीमा श्राद्ध गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका पूर्वसहप्राध्यापक श्रीराम सापकोटाले जानकारी दिए ।
सौरमासअनुसार माघेसंक्रान्तिदेखि र चन्द्रमासअनुसार माघ कृष्ण प्रतिपदादेखि उत्तरायण सुरु हुन्छ । उत्तरायण सुरु हुनुअघिको औंसी अर्थात् पौष कृष्ण औंसीमा पितृलाई विधिपूर्वक आह्वान गरी श्राद्ध गर्ने परम्परा छ । वैदिक सनातन धर्मावलम्बीले सके प्रत्येक वर्षमा नसके जीवनकालमा कम्तीमा पनि एकपटक तीर्थमा गई श्राद्ध गर्नुपर्ने नियम छ ।
दक्षिणायनको अन्तिम बिदाइका रूपमा आजको श्राद्ध गर्ने गरिएको हो । दर्शश्राद्ध अर्थात् घरतिरका तीन पुस्ता र मामाघरतिरका तीन पुस्तालाई पिण्ड दिई गरिने श्राद्ध शास्त्रीयरूपमा गर्नुपर्ने दिन पौष कृष्ण औंसी हो । तर व्यवहारमा सोह्रश्राद्धमै यो श्राद्ध गर्न थालिएको सहप्राध्यापक सापकोटा बताउँछन् ।
श्राद्ध भनेको श्रद्धा हो । शास्त्रअनुसारको व्यवहार कार्यान्वयनमा आएको छैन । महालयमा कसै कसैले सबै पितृलाई पिण्ड दिए पनि छुट्टै ब्राह्मण स्थापना गर्नुपर्ने विधि भने पूरा हुने गरेको छैन । यसरी श्राद्ध गर्दा घरमा नित्य कागलाई भात खुवाएजस्तो मात्र भई विधि नपुगेको धर्मशास्त्रविद्को तर्क छ ।
आज औंसीमा सूर्य अस्ताउने भएकाले पितृकर्म आजै गर्नुपर्छ । उदयमा औंसी देवकर्मका लागि गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।