तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ स्थित टरिगाउँ एयरपोर्टबाट साताको पाँच दिन हवाइ उडान हुने भएको छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि सातामा तीन दिन बिहीबार, शुक्रबार र शनिबारमात्रै हवाइ उडान हुँदै आएको थियो ।
पछिल्लो समय आइतबार र मङ्गलबार पनि उडान भर्ने गरेको उनले बताइन् । हवाई इन्धन डिपोबाट इन्धन ‘रिफ्युल’ गर्न थालेपछि उडान पनि थप गरिएको उपप्रमुख चौधरीले जानकारी दिइन् । यसअघि इन्धन डिपोबाट इन्धन रिफ्युल सुरु भएको थिएन, अब यहीबाट इन्धन रिफ्युल थालिएको छ त्यसैले अहिले हप्तामा पाँच दिन उडान थप गरिएको उनले बताइन्
चौधरीका अनुसार निजी हवाई सेवासँग पनि समन्वय गर्ने गरी तयारी भइरेको छ । हवाइ उडान नियमित भएमा आफूहरुले निजी क्षेत्रका जहाज ल्याउने गरिरहेको बताइन् । अहिले नेपाल वायुसेवा निगमको १९ सिटे ट्वीनअटर जहाजले सेवा दिइरहेको छ ।
कुनै समय दैनिक दुईवटासम्म उडान भर्ने गरिएको भए पनि पछिल्लो समय हवाई सेवा घटेर तीन दिनमात्रै भएको थियो । यसले गर्दा यस क्षेत्रबाट हवाई सेवाका लागि भैरहवा र नेपालगञ्ज जानुपर्ने बाध्यता थियो । अब यसलाई अन्त्य गर्न थप दुई दिन हवाई सेवा थपिएको छ । यो सँगै अब पाँच दिन हवाई उडान भइरहेको छ ।
त्यस्तै टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि प्रक्रिया अगाडि बढेको छ । अहिलेको धावनमार्ग सात सय ५० मिटर लम्बाइ रहेको भन्दै यसलाई बढाउनका लागि इञ्जीनियरको टोली आएको उपप्रमुख चौधरीले बताइन् । इञ्जीनियर आएर डिपिआरका लागि सबै हेरेर गइसकेको उनले बताइन् ।
विमानस्थल विस्तारका लागि पहल गर्न तुलसीपुर उपमहानगरपालिकाले उपप्रमुख चौधरीको नेतृत्वमा समिति गठन गरेको छ ।


