काठमाडौँ । विज्ञान प्रविधिको विकासका लागि सातवटै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्य अघि बढाइएको छ । वैज्ञानिक अनुसन्धानलाई प्रदेशस्तरसम्म पु-याउने उद्देश्यसाथ सातै प्रदेशमा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने कार्यको सुरुवात गरिएको हो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले केही दिनअघि गण्डकी प्रदेशमा (मङ्सिर १६ गते) पर्वतीय हरित अर्थतन्त्र विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरेको छ । चितवनको रामपुरस्थित कृषि तथा वन विश्वविद्यालयको परिसरमा (साउन १६ गते) सहरी विकास र वातावरण विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गरिएको थियो । नास्टका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले मुलुक सङ्घीय संरचनामा गएसँगै नास्टले पनि आफ्ना गतिविधि स्थानीय तहसम्म पुर्याउन प्रत्येक प्रदेशमा एक/एकवटा विशिष्टीकृत अनुसन्धान केन्द्र खोल्न लागेको बताए ।
डा. श्रेष्ठले जुन क्षेत्रमा जे सम्भावना छ त्यसैलाई प्राथमिकतामा राखेर विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने विषय छलफल र परामर्शमा काम अघि बढेको बताए ।
उनका अनुसार प्रदेश १ मा खाद्य र कृषि, मधेश प्रदेशमा चुरे संरक्षण र विकास, बागमती प्रदेशमा सहरी विकास र वातावरण, गण्डकी प्रदेशमा पर्वतीय हरित अर्थतन्त्र, लुम्बिनी प्रदेशमा परम्परागत प्रविधि, कर्णाली प्रदेशमा सूचना र सञ्चार, सुदूरपश्चिम प्रदेशमा जडीबुटीसम्बन्धी अध्ययन अनुसन्धानका लागि विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना कार्य अघि बढाइएको छ । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ।