तुलसीपुर महोत्सवमा रमेशराजले नचाए दर्शकहरुलाई

तुलसीपुर । तुलसीपुरमा जारी महोत्सवमा दर्शकहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । युथ्स अफ तुलसीपुरको आयोजना सञ्चालन भइरहेको प्रथम लुम्बिनी प्रदेश स्तरीय कृषि तथा पर्यटन महोत्सवमा चर्चित कलाकारहरुको बेजोड प्रस्तुतीले दर्शकहरुलाई तानिरहेको छ ।

गत मंसिर २६ गतेदेखि सुरु भएको महोत्सवमा अन्य दिनको तुलनामा शुक्रबार मेलामा दर्शकहरुको संख्या बढेको मेला आयोजक युथ्स अफ तुलसीपुरले जनाएको छ । मेलामा हरेक दिन नयाँ नयाँ कलाकाहरुको साथै मनोरञ्जनात्मक तथा सांङगितिक कार्यक्रम हुँदै आएको छ ।

महोत्सवको पाँचौ दिन शुक्रबार चर्चित गायक रमेशराज भट्टराई, गायिकाहरु महिमा श्रेष्ठ, सिर्जना खत्रीलगायत स्थानीय कलाकारहरुले दर्शकहरुलाई नचाएका थिए । गायक भट्टराईले ‘बेहुली बनाउँछु भन्थी बहुला बनार गई’, ‘तिमी लास्टै व्युउटी छौ र पो म फिदा भाको छु’, ‘खुट्टा भए जुत्ता छानी छानी पाइन्छ यो बजारमा’, ‘माया लाको तिम्ले र मैले दुनियाँलाई के सवाल भो’लगायतका चर्चित गीतहरुको गाएर दर्शकहरुलाई छमछमी नचाएका थिए ।

त्यसैगरी गायिका महिमा श्रेष्ठले पनि दर्शकहरुलाई नचाएकी थिइन् । उनले ‘ओखल, ढोक्कल पिपल पात’, ‘तिम्रो पिक्चर हिटल’गायतका चर्चित गीतहरु गाएकी थिइन् । यसैबीच मेलामा भोलि चर्चित लोकदोहोरी गायक तथा मोडल प्रकाश सपुत, गायिका प्रिती आले आउँदै छन् । तुलसीपुरमा अत्याधुनिक पुस्तकालय निर्माण गर्ने उद्देश्यले लागेको मेला पुस ६ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति : २०७९ पुष १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस