बिजौरी । प्रदेशसभाको दुई तिहाइ बहुमतले तोकेको लुम्बिनी प्रदेशको स्थायी राजधानी करीब दुइ वर्षपछि कार्यान्वयन हुँदैछ । यसले राप्तीबासीमा खुसीयाली छाएको छ । राजधानीको व्यवस्थापनसँगै झण्डोत्तोलनको अन्तिम तयारी पुरा भएको छ ।
स्थायी राजधानी कार्यान्वयनको प्रक्रिया अनुरुप आज दिउँसो बाह्र बजे प्रदेश प्रमुख अमिक शेरचनबाट लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परीषदको कार्यालयमा झण्डोत्तोलन गरेर राजधानी कार्यान्वयन विधिवत् रुपमा सुरु हुने छ । त्यसका लागि सम्पूर्ण तयारी पुरा भैसकेको राप्ती गाउँपालिकाका अध्यक्ष तथा स्थायी राजधानी व्यवस्थापन मुल समितिका संयोजक प्रकाश विष्टले जानकारी दिएका छन् ।
मुख्यमन्त्रीको कार्यालय विधिवत् रुपमा यहाँ व्यवस्थापन भएसँगै यसअघि स्थापित शहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयका कर्मचारीले पनि यहीँ मुकामबाट कामकाज गर्न बाटो खुल्ने छ । अन्य मन्त्रालय तथा कार्यालयहरु पनि चाँडै तोकिएको मुकाममा कामकाज सञ्चालनका लागि आउने छन् । मुल समितिका संयोजक विष्टकाअनुसार राजधानीलाई तोकिएको स्थानमा स्वागत गर्न विभिन्न कार्यक्रमहरु राखिएका छन् । बजार सरसफाइदेखि मन्त्रालय र विभागीय कार्यालयहरुका लागि पनि सम्भावित स्थानको व्यवस्थापन भैरहेको छ । राजधानीको स्वागत गर्न राप्ती गाउँपालिकाले भालुवाङ पुल नजिकै डिजिटल स्वागतद्वार निर्माण गरिसकेको छ । डिजिटल स्वागत गेटमा गाउँपालिकाका अन्य गतिविधिहरु समेत देख्न सकिने छ ।
त्यसैगरी लमहीको अर्जुनखोला तथा अमिलियामा पनि स्वागतद्वारहरु निर्माण भैसकेका छन् । तोकिएको स्थायी मुकाम कार्यान्वयनका लागि राप्ती उपत्यकाका तीन वटै पालिकाले विविध साँस्कृतिक झाँकीहरुको व्यवस्थापन गरिसकेको पनि मुल व्यवस्थापन समितिका संयोजक विष्टले जानकारी दिएका छन् । सो अवसरमा गुरुङ र मगर समुदायको सोरठि तथा पञ्चेवाजा प्रस्तुति हुने छ । त्यसैगरी दाङ जिल्ला थारु समुदायको पनि बाहुल्यता भएका कारण थारु समुदायका झुम्रा नाच, बड्का नाँच लगायतका विविध सांस्कृतिक प्रस्तुतिहरु रहने छन् । त्यसमा दाङ जिल्लाका अन्य पालिकाले पनि आफुले चाहेका साँस्कृतिक प्रस्तुतिहरु देखाउन सक्ने छन् ।
प्रदेश सरकारले नेपालको संविधानको धारा २८८ को उपधारा २ बमोजिम प्रदेश नम्बर ५ को प्रदेशसभाबाट तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतबाट यहाँ स्थायी राजधानी पारीत गरिएको थियो । त्यसैगरी नेपालको संविधानको धारा २९५ को उपधारा २ बमोजिम प्रदेश नम्बर ५ को तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतबाट मिति २०७७/०६/२० गतेका दिन प्रदेशसभाबाट प्रदेश नम्बर ५ को नाम लुम्बिनी प्रदेश राखिएको थियो । सो सूचना प्रदेश राजपत्रमा समेत उल्लेख भैसकेको छ । प्रदेश राजपत्रको सूचना प्रदेशसभा सचिव दुर्लभ कुमार पुन मगरले सार्वजनिक सूचना समेत जारी गरेका थिए ।
स्थायी राजधानी व्यवस्थापनका क्रममा देउखुरीको लालमटियास्थित राप्ती प्राविधिक शिक्षालय अन्यत्र व्यवस्थापन भइ खालि भैसकेपछि त्यहाँ अन्य मन्त्रालय तथा विभागीय कार्यालयहरु स्थापनाको तयारी भैरहेको छ । प्रदेशसभा भवन निर्माणको केही काम मात्रै बाँकी रहेको छ । त्यहाँ रंगरोगन लगायतका कामहरु रातदिन भैरहेका छन् । राप्ती प्राविधिक शिक्षालयको क्षेत्र प्रदेश राजधानीको स्वामित्वमा आएसँगै अहिले सयभन्दा बढी मजदुरहरुले राप्ती प्राविधिक शिक्षालयको स्वामित्वको क्षेत्रमा सरसफाइ गरिरहेका छन् । त्यसैगरी प्रदेशसभा भवनको चाँडै सम्पन्न गर्नका लागि रातदिन काम भैरहेको छ ।
प्रदेश सरकारले झण्डोत्तोलन कार्यक्रमलाई भव्य र सभ्य बनाउने छ । त्यसका लागि बाह्र वटै जिल्लाका जिल्ला समन्वय प्रमुखहरुलाई सहभागी बनाउने तयारी आन्तरिक मामिला मन्त्रालयले गरिरहेको छ । कार्यक्रममा दाङ जिल्लाका सबै पालिकाका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षहरुको पनि सक्रिय सहभागिता हुने राजधानी व्यवस्थापन मुल समितिले जनाएको छ ।
स्थायी राजधानी कार्यान्वयनका लागि भौतिक पूर्वाधारको कुनै कमी हुने छैन । दुई वटा मन्त्रालय यस अघिनै स्थापित भैसकेका छन् । थप दुई वटा मन्त्रालय राप्ती गाउँपालिकाको भवनमै व्यवस्थापन गर्न सकिने छ । अरु तीन वटा मन्त्रालयका लागि गाउँपालिकाका तीन वटा वडा कार्यालयहरु खालि गराइसकिएको छ । ती खालि भवनहरुको भिन्न भिन्न मन्त्रालयका सचिवहरुले अनुगमन गरिरहेका छन् । कर्मचारीलाई कोठाभाडाको सहजताका लागि गाउँकार्यपालिकाको बैठकबाटै भाडादर निर्धारण गरिएको छ । सुविधा युक्त कोठाको अधिकतम भाडा ३ हजारदेखि न्युनतम २ हजारसम्म निर्धारण गरीएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले जानकारी दिएका छन् ।
मुलुकमा भर्खरै संघ र प्रदेशको निर्वाचन सम्पन्न भएर नतिजा समेत सार्वजनिक भैसकेको छ । अब नवनिर्वाचित प्रदेशसभा सदस्यहरुको सपथ पनि यहीँ स्थायी राजधानीमा हुने तयारी भैरहेको छ । प्रदेशसभा भवन निर्माण सम्पन्न नभए पनि सपथ ग्रहण अन्यत्रै पनि हुन सक्ने मुख्य मन्त्रीको कार्यालयले जनाएको छ । – साक्षी खबरबाट