व्ल्याकमेल गर्दै रकम असुल्ने तीन जना पक्राउ

तुलसीपुर । तुलसीपुरका एक ब्यापारिमाथि यौन सम्बन्धको प्रस्ताव राखेर व्ल्याकमेल गर्दै ठुलो रकम बार्गेनिङ गर्ने तीन जनालाई दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा एक पुरुष र दुई महिलासहित रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमकाअनुसार पक्राउ पर्नेमा गढवा गाउँपालिका वडा नं. ६ घर भई हाल तुलसीपुर वडा नं. ६ दशरथ टोल बस्ने ३५ वर्षीया अनुष्का सिंह भन्ने कृष्णा गहतराज, तुलसीपुर वडा नं. १८ की ३८ वर्षीया कृष्णा कुमारी बस्नेत र घोराही वडा नं. १० नारायणपुरका २६ वर्षीय जनक भनिने रुद्रबहादुर केसी रहेका छन् ।

उनीहरुलाई गएको मंसिर १६ गते घोराही १६ सर्रामा रहेको कबिला रिर्सोटबाट बेलुका ५ बजे प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका मध्ये गहतराजले आफन्त तथा साथीहरुको सहयोगमा विगतमा व्यक्तिगत सम्बन्धमा रहेका व्यक्तिबाट पटक/पटक धाक धम्की दिंदै आर्थिक लाभ लिंदै आएको प्रहरीमा पीडितले जाहेरी दिएका थिए । पैसा नदिए बलात्कारको मुद्दा हाल्ने धम्की दिंदै आएपछि ति पुरुष प्रहरीकोमा गएका थिए ।

मंसिर १६ गतेको दिन पनि पीडितसँग ठुलो रकम आपराधिक लाभ लिने उद्देश्यले माग गरिरहेको अवस्थामा उनीहरुलाई रिर्सोटबाट पक्राउ गरेको गौतमले जानकारी दिए । उनीहरु विरुद्ध अपराधिक लाभ कसुर अन्तर्गत मुद्दा दर्ता भई अनुसन्धान जारी राखेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस