
काठमाडौं । प्रतिनिधिसभामा १२ वटा दलको प्रतिनिधित्व हुने भएको छ । समानुपातिकमा थ्रेस होल्ड कटाएका ७ वटा दलले राष्ट्रिय मान्यता पाएका छन् ।
निर्वाचन आयोगको समानुपातिक तर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार मतगणनाको काम सकिएसँगै दलले पाउने सिट संख्याको टुंगो लगाएर आजै दलहरुलाई पत्राचार गरिनेछ । अन्तिम मत परिणामअनुसार कुल सदर मतको ३ प्रतिशत थ्रेसहोल्ड कटाउने एमाले, कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा र जनमत गरी ७ दल राष्ट्रिय पार्टी बन्न सफल भएका छन् । थ्रेसहोल्ड कटाउन ३ लाख १६ हजार ८ सय २ मत आवश्यक पर्ने आयोगले जनाएको छ ।
समानुपातिकतर्फ पहिलो दल बनेको नेकपा एमालेले २८ लाख ४५ हजार ६ सय ४१ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले २७ लाख १५ हजार दुई सय २५ मत प्राप्त गरेको छ । त्यस्तै माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३ सय ४४, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८ सय ४९, जनता समाजवादी पार्टीले ४ लाख २१ हजार ३ सय १४, जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ तथा नेकपा (एकीकृत समाजवादी) ले २ लाख ९८ हजार ३ सय ९१ मत प्राप्त गरेको छ ।
नेकपा एमालेबाट अलग भएर बनेको एकीकृत समाजवादीले प्रत्यक्ष तर्फ १० सिट जितेपनि थ्रेसहोल्ड कटाउन भने सकेन । राष्ट्रिय दल बन्न एकीकृत समाजवादीलाई १८ हजार ४ सय ११ मत अपुग भएको छ । थ्रेसहोल्ड नकटाउने अरु ४० वटा दलले प्राप्त गरेको समानुपातिकतर्फको मत पनि खेर गएको छ ।
आयोगका अनुसार कांग्रेसले समानुपातिकमा ३२ सिट प्राप्त गर्ने देखिएको छ । कुल ८९ सिटसहित पहिलो दल बनेको छ । एमालेले समानुपातिकमा ३४ सिट पाउने भएको छ । कुल ७८ सिटसहित एमाले दोस्रो दल बनेको छ । तेस्रोमा रहेको माओवादी केन्द्रले १४ सिट पाउने भएको छ । कुल ३२ सिट पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि समानुपातिकमा १३ सिट पाउने भएको छ । कुल २० सिटसहित स्वतन्त्र पार्टी चौथो दल बनेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ७ सिट पाउने भएको छ र कुल १४ सिट हुने भएको छ । जनता समाजवादी पार्टीले ५ सिट पाउने छ र कुल १२ सिट हुनेछ । त्यस्तै जनमत पार्टीले ५ सिट प्राप्त गर्ने भएको छ र कुल ६ सिट हुनेछ । निर्वाचन आयोगले अन्तिम विवरण तयार पार्ने काम भैरहेको जनाएको छ ।
प्रतिनिधि सभामा १६५ क्षेत्रमध्ये प्रत्यक्ष सिटमा विजयी भएर पनि थ्रेसहोल्ड नकटाएर राष्ट्रिय दल नबनेका दलमा एकीकृत समाजवादीसँगै नागरिक उन्मुक्ति पार्टी, लोसपा, नेमकिपा, राष्ट्रिय जनमोर्चा रहेका छन् ।