बुटवल । नेपाली कांग्रेस रुपन्देहीले लुुम्बिनी प्रदेश सरकारले प्रदेशको अस्थायी मुकाम रुपन्देहीबाट दाङमा राजधानी सार्न लागेको प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेसले राजधानी सार्ने जिम्मा संरचनाहरू निर्माण भएपछि नयाँ बन्ने सरकारलाई दिनुुपर्ने माग गरेको छ । प्रदेशसभाबाट दाङको देउखुुरी उपत्यका र अर्घाखाँचीको शितगंगा नगरपालिकाको राप्ती किनारमा राजधानी बनाउने निर्णय भइसकेको छ ।
तर, त्यहाँ संरचना निर्माण भइसकेको छैन । यो अवस्थामा राजधानी सार्न हतार नगर्न कांग्रेस रुपन्देहीले आग्रह गरेको छ ।
आइतबार कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले विज्ञप्ति जारी गर्दै प्रदेशसभाको नियमित काम गर्न समेत संरचना निर्माण नभएको अवस्थामा हतारमा राजधानी सार्दा दैनिक कामकाजमा पर्न सक्ने असरतर्फ प्रदेश सरकार सचेत हुनुुपर्ने उल्लेख गरेका छन् ।

“तत्काल सार्वभौम प्रदेशसभाको निर्णय कार्यान्वयन गर्दा प्रदेश सरकार, संसद्, विषयगत समितिलगायतका संरचनाको नियमित सञ्चालन र व्यवस्थापन गर्न साथै प्रदेशसभा र सरकारसँगै जाने सभासद र कर्मचारीको आवासका लागि पर्याप्त पूर्वाधार नभएको स्थानमा जबर्जस्ती लैजानुु प्रदेशसभा तथा प्रदेश सरकारको सेवा प्रवाहमा समेत प्रतिकूल असर पर्ने देखिएकोले तत्काल मुकाम सार्ने प्रक्रिया रोकी भौतिक संरचना निर्माणमा ध्यान दिन र नवनिर्वाचित प्रदेशसभाबाट बन्ने नयाँ सरकारलाई सोको कार्यभार सुम्पन आह्वान गर्दछौँ,” खाँणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


