
काठमाडौं । नेकपा एकीकृत समाजवादी दुई प्रदेशमा निल भएको छ । सो पार्टीले प्रतिनिधि सभाका १६५ मध्ये १९ सिटमा उम्मेदवारी दिएको थियो । उम्मेदवारी दिएकामध्ये १० सिट जित्दा नौ सिट गुमाउन पुगेको सो पार्टी सिंगै दुई प्रदेशबाट एउटै जित ननिकालेपछि निल बन्न पुगेको हो ।
गण्डकी र प्रदेश नम्बर १ मा निल भएको सो पार्टीका उम्मेदवार इलाम १ मा सम्मानित नेता झलनाथ खनाल एमाले उम्मेदवार महेश बस्नेनेतसँग प्रतिस्पर्धारत छन् । त्यहाँको मत गणना सकिएको छैन । प्रदेश १ मा १४ जिल्ला रहेका छन् भने गण्डकीमा ११ जिल्ला रहेका छन् ।
सो पार्टीले मधेश प्रदेशमा भने दुई सिट जितेको छ । रौतहट १ र बारा ४ बाट क्रमशः माधव नेपाल र कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । मधेस प्रदेशमा ८ जिल्ला रहेका छन् ।
त्यस्तै लुम्विनीमा दाङ १ बाट मेटमणी चौधरी निर्वाचित भएर प्रदेश निल हुनबाट जोगाएका छन् । यो प्रदेशमा १२ जिल्ला रहेका छन् ।
कर्णालीबाट पनि दुई सिट जितेको समाजवादीले डोल्पा र दैलेखबाट क्रमशः अम्बरबहादुर थापा र धनबहादुर बुढा निर्वाचित भएका छन् । कर्णाली प्रदेशमा १० जिल्ला रहेका छन् ।
सबैभन्दा धेरै ३ सिट सुदुरपश्चिममा जितेको यो पार्टीबाट अछाममा शेरबहादुर कुँवर, डोटीमा प्रेम आले तथा बझाङमा भानुभक्त जोशी निर्वाचित भएका छन् । सुदुरपश्चिमममा नौ जिल्ला रहेका छन् ।
१३ जिल्ला रहेको वागमतीमा धादिङ १ बाट मुख्यमन्त्री समेत रहेका राजेन्द्र पाण्डे निर्वाचित भएका छन् ।
समाजवादीले प्रदेशसभा तर्फ पनि अहिलेसम्म १० सिट जितेको छ । १० सिट प्रतिनिधि सभा र १० सिट प्रदेश सभा जितेको यो पार्टीले समानुपातिक तर्फको मत गणनामा अहिलेसम्म ३ प्रतिशत कटाउन सकेको छैन । समानुपातिकतर्फको ८३ लाख मत गणना सकिँदा यो पार्टीले २ लाख २२ हजारमात्र पाएको छ ।